१० महिनामा १३ हजार पर्यटक पुगे रारा

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

पछिल्लो १० महिनामा मुगुको प्रमुख पर्यटकीय स्थल रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्। साउनदेखि वैशाख मसान्तसम्म १३ हजारभन्दा बढी पर्यटकले रारा भ्रमण गरेका हुन् ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार गत साउनदेखि वैशाख मसान्तसम्म रारा घुम्न आएका पर्यटक सङ्ख्या गत वर्षभन्दा बढेको छ । यस अवधिमा आन्तरिक पर्यटक १२ हजार सात सय ६१, सार्क राष्ट्रका ४५ र अन्य देशका दुई सय आठजनाले  भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०८०÷८१ मा १७ हजार २ सय ९७ जना पर्यटकले रारा भ्रमण गरेका थिए । यसवर्ष वैशाखमै १३ हजारभन्दा बढी पर्यटक रारा पुगेकाले असार मसान्तसम्म अझै बढ्ने र गत वर्षभन्दा बढी पर्यटक रारा पुग्ने अनुमान छ । 

यस्तै विभिन्न शीर्षकमा ४४ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । रारा राष्ट्रिय निकुन्जको कार्यालयले यही ५ जेठसम्म विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो । यसमध्ये पर्यटन शुल्कबाट ३१ लाख २७ हजार राजस्व उठेको छ ।

रारा घुम्न आउने पर्यटकमध्ये आन्तरिकतर्फ प्रतिव्यक्ति एक हजार, सार्क राष्ट्रका नागरिकलाई एक हजार पाँच सय र विदेशी अन्य देशका नागरिकलाई  तीन हजार शुल्क तोकेको छ ।

राज्यले रारा पुग्ने सडक कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक स्तरोन्नति गरे पर्यटकको सङ्ख्या बढ्ने रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावलले बताए ।

उनका अनुसार सडकको अवस्था नाजुक छ, ठूला गाडी गुड्न सडक साँघुरो छ, सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ । रारा विमानस्थलमा नियमित हवाइ उडान हुने हो भने कर्णाली प्रदेशकै आर्थिक अवस्थामा सुधार आउने देखिन्छ ।

रारामा पर्यटकमैत्री भौतिक पूर्वाधारको अभाव छ । त्यसैले रारामा अझ बढी पर्यटक भित्र्याउन र पर्यटकको बसाइ लम्ब्याउन सरकारले बृहत् रारा विकास प्राधिकरण गठन गरी यहाँको विकासका लागि कदम चाल्नुपर्छ ।

सुझावित समाचार