चितवनको मकैमा अमेरिकन फौजी किराको संक्रमण

आइतबार, ११ जेठ, २०८२
डिजिटल संस्करण

जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी किराको संक्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार-पाँचजना किसान फौजी किराको समस्या लिएर आउने गरेका छन् ।

कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी किराको संक्रमण देखिएको छ । 

उनले भनिन्, ‘यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी किराको संक्रमण नरोकिएको हो ।’ मकैको साना तथा ठुला बिरुवामा यो समस्या देखिने गरेको छ । 

जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ । ‘यहाँ कतै मकै पाकेको छ भने कतै लगाउँदै गरेका छन् । यामअनुसारको मकै र बेमौसमी मकैखेती हुने हुँदा यसको किराको आक्रमण बढेको हो,’ चौहानले भनिन्, ‘जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको हो ।’ धानमा पनि फौजी किरा देखिने भएकाले हरेक याममा मकैखेतीमा यसले आक्रमण गर्ने गरेको उनले बताइन् ।

अमेरिकन फौजी किरा पुतली वर्गको रात्रिचर किरा हो । यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्दछ । मकैबाली मन पराउने यस किराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पुर्याउने बागवानी विकास अधिकृत चौहान जानकारी दिइन् ।

उनका अनुसार यस किराको लार्भाले मकैको पात, गुभो, घोगा तथा डाँठमा समेत क्षति पुर्याउने गर्छ । यसले कलिलो अवस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा बढ्दै गएपछि पातमा प्वाल पार्ने र छियाछिया बनाउने गर्छ ।

चौहानले पुराना मकैका ठुटालाई आगो लगाएर जलाउन, मकै भाँचिसकेपछि खेतबारीलाई गहिरोसँग खनजोत गर्न, मकै उम्रेदेखि नियमित रूपमा खेतबारीको अवलोकन गरी किरोका बारेमा बुझ्न र केही समय बारी खाली राख्न सुझाव दिइन् । 

उनले मकैलाई कोसेबालीसँग अन्तरबाली लगाउँदा संक्रमण कम हुने, पासोबालीको रूपमा नेपियर घाँसको प्रयोग गर्न, किराको संक्रमण देखिएमा नीमजन्य विषादी प्रयोग गर्न पनि सुझाव दिइन्। रासस

सुझावित समाचार