संघीय लोकतान्त्रिक मोर्चाले भन्यो– भूमिसम्बन्धी विधेयक असंवैधानिक, भूमाफियालाई लाभ पुग्ने गरी ल्याइयो

बुधबार, ८ जेठ, २०८२
डिजिटल संस्करण

संघीय लोकतान्त्रिक मोर्चाले संसदमा प्रस्तुत भूमिसम्बन्धी विधेयकलाई असंवैधानिक भन्दै सरकारले भूमाफिया र तस्करलाई लाभ हुने गरी विधेयक ल्याएको बताएकाे छ। आज बुधबार बसेको मोर्चाको बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक असंवैधानिक रहेको निष्कर्ष निकालेको हो।

संविधानको अनुसूची ६ अनुसार भूमि व्यवस्थापन र जग्गाको अभिलेख राख्ने अधिकार प्रदेशको रहेको स्मरण गराउँदै मोर्चाले प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरी सरकारले उक्त विधेयक ल्याएको जनाएको छ।

सो विधेयकले भूमिहीन र सुकुमवासी समस्या समाधान गर्न नसक्ने भन्दै मोर्चाले भनेको छ, ‘सुकुमवासीको समस्या समाधान गर्न प्रचलित ऐन नै पर्याप्त रहेको छ। उक्त विधेयक रियल स्टेट, भूमाफिया, भूमि दलाल, भ्रष्टाचारी, वन तस्कर आदिलाई अत्यधिक लाभ पुग्ने गरी ल्याइएको छ। यसबाट वनजंगल विनाश भई पर्यावरण संकट उत्पन्न हुने र जैविक विविधता नष्ट भई तराई -मधेश मरुभूमिकरण हुने, तराई र मधेशमा आन्तरिक बसाइँसराइका कारण अत्यधिक जनसंख्या वृद्धि भई भयावह स्थिति उत्पन्न हुनेछ।’

विधेयक देश र जनताको हितमा नरहेको भन्दै मोर्चाले विधेयक फिर्ता लिन सरकारसँग अनुरोध गरेको छ।

सुझावित समाचार