प्रजनन स्वास्थ्यसम्बन्धी स्क्रिनिङ शिविर, ६ जनामा पाठेघरको मुखको क्यान्सर

मंगलबार, ७ जेठ, २०८२
डिजिटल संस्करण

बढी जनसंख्या र विकट वडा मानिने सिराहाको लहान नगरपालिका १७ र २४ स्थित स्वास्थ्य चौकीमा आयोजिक प्रजनन स्वास्थ्यसम्बन्धी शिविरमा जाँच गरिएकामध्ये ६ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचान भएको छ । 

पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि नगरको स्वास्थ्य शाखाद्वारा छुट्टाछुट्टै रूपमा सञ्चालित ‘निःशुल्क प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर’मा जाँच गराएका २१३ जनामध्ये ६ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचान भएको नगर स्वास्थ्य शाखाका सिअहेव अधिकृत राममानन्द चौधरीले जनकारी दिए । उनका अनुसार लहान १७ तरेगना गोविन्दरपुरमा जाँच गराएका ७५ जनामध्ये तीनजना र लहान २४ गोविन्दपुरमा १३८ मध्ये तीन गरी ६ जनामा पाठेघरको मुखको क्यान्सर पहिचान भएको हो । 

‘पाठेघरको मुखको क्यान्सर पहिचान भएका बिरामीहरूमा कुन तहको क्यान्सर हो भन्ने यकिन गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ,’ उनले भने, ‘भिआए प्रविधिमार्फत पाठेघरको मुखको क्यान्सर र प्रजननन स्वास्थ्यसम्बन्धी अन्य समस्या रहे–नरहेको यकिन गर्न शिविर सञ्चालन गरिएको हो ।’
नगरको अन्य वडामा पनि शिविर सञ्चालन गरिनुपर्ने भए पनि यसपल्ट सीमित बजेट र लहानस्थित क्यान्सर केयर सेन्टर पनि नजिक पर्ने भएकाले यसपटक जनसंख्या बढी र विकट मानिने नगरको दुई वडालाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनले बताए । शिविरमा ३० देखि ५५ वर्ष उमेर समूहका महिलाको पाठेघरसहित प्रजनन स्वास्थ्यसम्बन्धी अन्य परीक्षण गरिएको नगरको स्वास्थ्य शाखाकी सिअनमि अधिकृत रिता यादवले जानकारी दिइन् । 

महिलामा पाठेघरको मुखको क्यान्सर पहिचान, अवस्थाको पूर्वजानकारी, उपचार विधिलगायत विषयमा सचेतना जगाउने र समस्या पहिचानपछि थप उपचारका लागि अन्यत्र पठाउन सहजीकरण गर्ने गरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको उनले बताइन् । ‘जोखिमयुक्त गाह्रो काम, पोषिलो खानेकुराको कमी, अशिक्षाजस्ता कारणले समयमै रोगको पहिचान हुन नसक्दा पनि क्यान्सरबाट पीडित भई मृत्युसमेत हुन सक्ने अवस्थाबाट जोगाउन शिविर प्रभावकारी भएको छ,’ उनले भनिन् ।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका विपन्न, दलित, गरिब परिवारका महिला घातक रोगबाट पीडित रहेको पाइएपछि सञ्चालन गरिएको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए । ‘शिविर क्रमशः नगरका २४ वटै वडामा सञ्चालन गरिनेछ,’ उनले भने, ‘त्यसबाहेक नगर क्षेत्रका दलित, विपन्न र गरिब परिवारका गर्भवती तथा सुत्केरीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हरेक महिनाको २२ गते नगर क्षेत्रका विभिन्न वार्डहरूमा‘सुत्केरी तथा गर्भवती महिलाका लागि पोषण प्याकेज’अन्तर्गत चामल, दाल, नुन, चना, तेल, मटरलगायतका खाद्य सामग्री वितरणलाई निरन्तरता दिइएको छ ।’
 

सुझावित समाचार