लिभियामा अगस्ट १७ मा राष्ट्रपति पदका लागि निर्वाचत हुँदै छ । यसै सन्दर्भमा त्यहाँ घटेका पछिल्ला दुई राजनीतिक घटनाले आगामी चुनावलाई प्रभावित बनाउने प्रक्षेपण गरिएको छ । बुधबार(मे १४ मा) एक कार्यकाल मात्र शासनभार सम्हालेका वर्तमान राष्ट्रपति लुइस आर्सेले फेरि उम्मेदवारी नदिने घोषणा गरे ।
राष्ट्रपति दौडबाट बाहिरिएको घोषणा गर्र्दा आर्सेले बोलिभियाली वामपन्थीहरूलाई ‘बृहत् एकता’का लागि आह्वान गरेका थिए । ‘बोलिभियाका लुटेराहरूलाई पराजित गर्न एकल उम्मेदवार आवश्यक छ,’ आर्सेले सामाजिक सञ्जालमा लेखेका थिए ‘हाम्रो बहुराष्ट्रिय राज्यलाई नष्ट गर्न खोज्ने फासीवादी दक्षिणपन्थी परियोजनाविरुद्ध लोकप्रिय मत विभाजन नहोस् भनेर म उम्मेदवारी नदिने घोषणा गर्दछु ।’
त्यही दिन, बोलिभियाको संवैधानिक अदालतले आर्सेका पूर्वराजनीतिक गुरु र अहिलेका प्रतिद्वन्द्वी इभो मोरालेसले पुनः राष्ट्रपतीय उम्मेदवारी दिन नसक्ने फैसला सुनायो । तीन कार्यकाल राष्ट्रपति रहिसकेका पूर्वराष्ट्रपति मोरालेसले चौथो कार्यकालका लागि उम्मेदवारी घोषणा गरिसकेका थिए । उनले सामाजिक सञ्जालमार्फत अदालतको फैसलाको विरोध जनाएका छन् । ‘जनताले मात्र मलाई मेरो उम्मेदवारी त्याग भन्न सक्छन्,’ मोरालेसले लेखेका छन् । बुधबारका दुई घोषणाले पहिले नै अशान्त राष्ट्रपतिको दौडमा थप अनिश्चितता थपिदिएको छ ।
बोलिभियाको संवैधानिक अदालतले वर्तमान राष्ट्रपति आर्सेका राजनीतिक गुरु इभो मोरालेसले चौथोपटक राष्ट्रपतीय उम्मेदवारी दिन नसक्ने फैसला सुनाएको छ
आर्सेको घट्दो लोकप्रियता
आर्से सानो राजनीतिक उथलपुथलपछि सन् २०२० मा सम्पन्न आमनिर्वाचनदेखि बोलिभियामा शासन गरिरहेका छन् । तर, आर्सेको कार्यकाल पनि कम उथलपुथलकारी रहेन । राष्ट्रपति बनेपछि मोरालेससँगको उनको सम्बन्ध बिग्रियो भने उनको सरकारको लोकप्रियता निरन्तर खस्किरहेको छ । हुन त आर्से र मोरालेस दुवै ‘मुभमेन्ट फर सोसलिजम (एमएएस)’ भनेर चिनिने वामपन्थी राजनीतिक दलसँग आबद्ध छन् । तीन दशकअघि स्थापना भएदेखि एमएएस बोलिभियाली राजनीतिमा सबैभन्दा प्रमुख शक्तिका रूपमा कायम रहन सफल छ । मोरालेस सो दलका प्रमुख संस्थापक पनि हुन् ।
आखिर, चुनाव नजिकिँदै जाँदा आर्सेको लोकप्रियता किन घट्यो ? गत वर्ष बोलिभियाको मुद्रास्फीति एक दशकयताकै सबैभन्दा उच्चतमस्तरमा पुग्यो । यसले, मुद्राको मूल्यमा ठुलो अवमूल्यन आएको छ । केन्द्रीय बैंकमा नगदी भण्डारमा ह्रास आएको छ । कालोबजार बढ्दै गएको छ र ती बजारमा बोलिभियाली मुद्राको मूल्य सरकारले तोकेको आधिकारिक विनिमयदरभन्दा आधा मात्र छ । कुनै वेला प्राकृतिक ग्यासको प्रमुख निर्यातकर्ता मुलुक बोलिभिया अहिले ऊर्जा अभावलाई सम्बोधन गर्न आयात गर्न बाध्य छ । यी सब कारण आर्सेको लोकप्रियता घटाउन जिम्मेबार रह्यो ।
हुन त विज्ञहरूले हाल देखिएकामध्ये केही समस्या आर्सेको कार्यकालअघि नै सुरु भएको बताउँछन् । तथापि, आमनागरिक भने जटिल आर्थिक स्थितिका लागि आर्से सरकारलाई जिम्मेबार मानिरहेका छन् । फलस्वरूप, आर्सेले अरूका लागि बाटो खाली गर्ने मार्ग रोजे । आर्सेले देशमा शक्ति आर्जन गर्दै लगेको दक्षिणपन्थी दलहरू मात्र आफ्नै गठबन्धनभित्रबाट पनि विरोधको सामना गर्नुप¥यो । कुनै समय मोरालेसको सरकारमा अर्थमन्त्रीका रूपमा राजनीति सुरु गरेका आर्सेको आफ्ना राजनीतिक गुरुसँगको सम्बन्ध अहिले शत्रुको जस्तो छ । एमएएसका कार्यकर्ताहरूसमेत माथिदेखि तलसम्म मोरालेस पक्षधर र आर्से पक्षधरमा विभाजित भएका छन् ।
दुई नेताबिचको विवाद गत २०२४ जुन महिनामा सबैभन्दा शिखरमा पुगेको थियो । त्यतिवेला देशका सेनाप्रमुख हुँवा जोसे जुनिगाले आर्सेलाई देशको गरिबी र अव्यवस्थाका लागि जिम्मेबार ठहराउँदै असफल कूको प्रयास गरेका थिए । यस्तो कठिन परिस्थितिमा आफ्ना गठबन्धनका नेताको साथमा उभिनुको सट्टा मोरालेसले आर्सेको राजीनामा माग्दै विरोध अभियान सुरु गरे ।
चौथो कार्यकालको लोभ
बोलिभियामा वामपन्थी मताधारलाई अझै कसैले तरंगित गर्न सक्छ भने ती मोरालेस हुन् । देशको पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बनेका मोरालेस अझै समर्थकमाझ लोकप्रिय छन् । तथापि, पछिल्ला केही घटनाले उनको आकर्षण केही घटाएको छ । सन् २००५ मा पहिलोपटक राष्ट्रपतिको रूपमा निर्वाचित भएको मोरालेस दुईपटक पुनः निर्वाचित भए । सन् २०१९ मा सम्पन्न चुनावमा पनि उनी राष्ट्रपति उम्मेदवार थिए । मतपरिणाम सार्वजनिक हुँदा उनले बहुमत पाएको देखिएको थियो । तर, लगत्तै चुनावमा व्यापक धाँधली भएको आरोपमा विरोध सुरु भयो । विरोधप्रति सेनाको समर्थनका कारण मोरालेस राजीनामा दिएर विदेश भागे ।
चौथो कार्यकालमा राष्ट्रपतिका रूपमा फर्किने मोरालेसले लामो समयदेखि प्रयास गरिरहेका छन् । दुईपटक मात्र राष्ट्रपति बन्न पाउने संविधानको व्यवस्था खारेज गर्न उनी आफैँले सन् २०१६ मा जनमतसंग्रह आयोजना गरेका थिए । त्यसमा बहुमतले दुई कार्यकालको पक्षमा देखिए । तर, यस मतपरिणामले पनि मोरालेस रोक्क सकेन । उनले देशको संवैधानिक अदालतमा अपिल गरे । र, २०१९ मा अदालतले मोरालेसलाई चौथो कार्यकालमा उठ्न अनुमति दियो । त्यतिवेला मोरालेसले जनमतसंग्रहमा मतदाताले जाहेर गरेको इच्छालाई उल्ट्याएको आरोप लागेको थियो । अदालतले पनि विगतको आफ्नो निर्णय उल्ट्याएको छ । सन् २०२३ मा संवैधानिक अदालतले चार वर्षअघिको आफ्नो निर्णय उल्टाएको थियो ।
पछिल्लो समय बुधबार अदालतले फेरि एकपटक मोरालेसले आगामी अगस्टको चुनावमा उम्मेदवार हुन नपाउने निर्णय गरेको छ । त्यसबाहेक गत अक्टोबरमा मोरालेसमाथि राष्ट्रपति हुँदा १५ वर्षीया बालिकाबाट बच्चा जन्माएको भन्दै नाबालिका बलात्कारको मुद्दा परेको छ । मोरालेसले भने आफूले अपराध गरेको अस्वीकार गर्दै गिरफ्तारीका लागि जारी गरिएको वारेन्टबाट बच्न विभिन्न उपाय अपनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार उनी उत्तरी बोलिभियामा रहेको कोचाबाम्बाको ग्रामीण भेगका समर्थकबिच लुकेर बसेका छन् । नाबालिग बलात्कारको मुद्दा चलिरहेकै वेला फेब्रुअरीमा, मोरालेसले पुनः चुनाव उठ्ने घोषणा गरेका थिए । र, बुधबार संवैधानिक अदालतले बोलिभियाको दुई कार्यकाल सीमाप्रतिको समर्थन दोहोर्याएपछि अदालतको फैसलाले आफ्नो मानव अधिकारको उल्लंघन हुने भन्दै निन्दा गरे । उनले यस निर्णयलाई विदेशी षड्यन्त्र भन्न पनि छुटाएनन् ।