दमकको फोहोरले चुलाचुलीमा दुर्गन्ध

वनमा फोहोर फाल्दा समस्या आएपछि वडाध्यक्षको नेतृत्वमा आन्दोलन, २० करोडको बायोग्यास निर्माण हुँदा पनि प्रयोगमा आएन

आइतबार, ५ जेठ, २०८२
डिजिटल संस्करण
दमकको फोहोरले चुलाचुलीमा दुर्गन्ध

फोहोर फाल्ने ठाउँमा अवरोध भएपछि दमक नगरपालिका कार्यालयबाहिर रोकिएका फोहोर बोक्ने गाडी । तस्बिर : नयाँ पत्रिका

झापाको दमक नगरपालिकाले फ्याँक्ने फोहोरका कारण इलामको चुलाचुलीवासीले दुर्गन्ध खेप्नुपरेको छ । दमक नगरपालिका र चुलाचुली गाउँपालिको सिमानामा रहेको दमक– २ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा दैनिक २६ टन फोहोर फ्याँकिँदा चुलाचुली– ५ काे रमाइलो बस्ती, चपेटी, कोलडाँडा, चन्द्रनगर, शिखरकटेरी, आँपझोला, धिमालटार बस्ती प्रभावित भएका छन् । 

स्थानीयले यसको विरोध गर्दै आएका छन् । शनिबार त नगरपालिकाले फोहोर फाल्ने ठाउँनजिकै उभिएर चुलाचुली– ५ का वडाध्यक्ष बबिन राईको नेतृत्वमा फोहोर फाल्न अवरोध गरेका छन् । उनीहरूले फोहोर फाल्न गएका सात गाडीलाई फाल्नै नदिई फर्काएका हुन् । फोहोर लिएर फर्किएका गाडीहरू दमक नगरपालिकाको कार्यालयबाहिर राखिएका छन् ।

दमकलाई फोहोर व्यवस्थापनका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएपछि वडाध्यक्ष राईको संयोजकत्वमा संघर्ष समिति बनाएर विरोध भएको हो । ‘दमकको फोहोरले दुर्गन्ध फैलिएको छ । गाउँमा झाडापखालाका बिरामी बढेका छन् । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि संघर्ष समिति बनाएर आन्दोलनमा उत्रन बाध्य भयौँ,’ वडाध्यक्ष राईले भने, ‘हामीले गाडी रोकेर आन्दोलन सुरु गरेका छौँ । फोहोर रोक्छौँ । दमकले फोहोर नरोकेसम्म आन्दोलन जारी रहन्छ । फोहोर प्रशोधन केन्द्र स्थानान्तरण नगरेसम्म आन्दोलनमै रहन्छौँ ।’ वडाध्यक्ष राईका अनुसार फोहोर फाल्ने ठाउँदेखि ५० मिटरआसपासमा बस्ती छ । गत कात्तिकमा दमक नगरपालिका र २८ मंसिरमा इलामका प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वयलाई पनि पत्र लेखे पनि कुनै सुनुवाइ नभएको उनले बताए । 

फोहोरको दुर्गन्ध घरसम्म फैलिएको ल्यान्डफिल्ड साइटनजिकैको चन्द्रनगर बस्तीका सन्दीप लिम्बूले बताए । ‘घरसम्म गन्ध आउँछ । खाना खान पनि सकिँदैन । बर्खाको समयमा त झनै धेरै यो समस्या हुन्छ । वर्षौँदेखि यो समस्या भोग्दै आएका छौँ । तर, दमकले वास्ता नै गरेन,’ उनले भने, ‘दमक नगरपालिकाले फोहोरसमेत नपुरीकनै यत्तिकै छाडिदिँदा दुर्गन्ध झनै फैलिएको छ ।’

हावाले फोहोर घरसम्म नै उडाएर ल्याउने गरेको चुलाचुली– ५ का स्थानीय रामप्रसाद तामाङले बताए । ‘फोहोरले समस्या भएको छ । फोहोर खान १२ महिना नै हात्ती आउँछ । घरनजिकै भएकाले हात्ती बस्तीमा पनि पस्छ । त्यही बाटो भएर हिँड्नुपर्छ । घरबाट निस्किएपछि घर पुगिन्छ कि पुगिँदैन भनेर डर हुन्छ,’ उनले भने । 

दमक नगरपालिकाका मेयर रामकुमार थापाले चुलाचुलीको पत्र प्राप्त भएको र छलफलबाट समाधान गरिने बताए । ‘प्रक्रिया पूरा गरेर हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा फोहोर फालिएको हो । तर, फोहोर व्यवस्थित गर्न भने सकिएको छैन,’ उनले भने, ‘छफलफल गरेर व्यवस्थित गरिनेछ ।’

दमकले ‘फोहोरबाट मोहर’ निकाल्ने भन्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरेर कुहिने फोहोरबाट ग्यास र नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याउने गरी योजना बनाएर नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभीलाई जिम्मेवारी दिएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ५ करोड ८८ लाख २७ हजार ९०२ र कम्पनीले १४ करोड ७० लाख ६९ हजार ७५७ रुपैयाँ लगानी गरेर फोहोर प्रशोधन केन्द्रका लागि ग्यास प्लान्ट पनि बनाएको छ । तर, ग्यास प्लान्टबाट उत्पादित बायोग्यास सम्झौताअनुसार प्रयोगमा नआउँदा दमकको फोहोर हम्सेदुम्से सामुदायिक वनमा फाल्ने गरिएको छ ।

ऐनविपरीत वनमा फोहोर 
दमकबाट निष्कासन भएको फोहोर हम्सेदुम्से वन क्षेत्रमा फाल्दा पर्यावरणमा असर परेको छ । वनमा फोहोर फाल्नु कानुनविपरीत हो । कोशी प्रदेशको वन ऐनले पनि वन क्षेत्रमा फोहोर फाल्न निषेध गरेको छ । प्रदेश वन ऐनको दफा ६७ मा ‘राष्ट्रिय तथा प्रादेशिक वन क्षेत्रभित्र कसैले पनि प्लास्टिक र प्लास्टिकजन्य फोहोर तथा अन्य कुनै प्रकारका फोहोर फाल्न हुँदैन’ उल्लेख छ । यसरी वन क्षेत्रमा फोहोर फाल्दा ५० हजारसम्म जरिवाना हुने उक्त ऐनको दफा ६९ मा उल्लेख छ । तर, कानुन कार्यान्वयन गर्ने निकाय दमक नगरपालिकाले नै वनमा बलजफ्ती गरेर फोहोर फालिरहेको छ ।
 

सुझावित समाचार