विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रको लापरबाही : पोलमा काम गर्दागर्दै करेन्ट लागेर मजदुरको मृत्यु

शनिबार, ४ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रको चरम लापरबाहीले गर्दा विद्युत् मजदुरको ज्यान गएको छ। विद्युतको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार धुलिखेल नगरपालिका वडा नं. ७ सञ्जीवनी चोक नजिक ११ केभी करेन्ट रहेको विद्युतपोलमा चढेर काम गर्ने क्रममा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नं. १२ का २८ वर्षीय उपेश परियारको करेन्ट लागेर मृत्यु भएको छ। 

तार जोड्न पोलमा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको स्थानीयको आरोप छ। उनलाई विद्युत् प्राधिकरणले नै काममा लगाएको थियो।

शुक्रबार मात्रै विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो। त्यसैले सावधानी अपनाउन भनेको थियो। तर, कार्यालयकै असावधानीले एकजना मजदुरको मृत्यु भएको छ।

मृतक उपेशको  शवलाई पोलबाट निकालेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमान्डमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
 

सुझावित समाचार