जयकुमारनाथ शाह यू–१६ क्रिकेटको उपाधि डिएभीलाई

सोमबार, २९ बैशाख, २०८२
डिजिटल संस्करण

डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ जयकुमारनाथ शाह मेमोरियल यू–१६ टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

सोमबार तल्लो मूलपानी क्रिकेट मैदानमा डिएभीले गेटवे एकेडेमीविरुद्ध सात विकेटको सहज जित दर्ता गर्यो। च्याम्पियन डिएभीले १ लाख ५० हजार तथा उपविजेता गेटवेले ७५ हजार रुपैयाँ प्राप्त गरे। 

यसैगरी, डिएभीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका प्रसिद्ध जैसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। उनले १० हजार रुपैयाँ हात पारे। उनले प्रतियोगिताका पाँच खेलमा तीन अर्धशतकसहित ३०० रन बनाउनुका साथै आठ विकेट लिएका थिए।

टस जितेर ब्याटिङ रोजेको गेटवेले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनको योगफल तयार पारेको थियो। प्रत्युत्तरमा डिएभीले १६.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

डिएभीका लागि कप्तान प्रसिद्ध जैसीले अविजित ३५ र मायंककुमार साहले १६ रन बनाए। गेटवेका लागि उज्वल गुप्ताले दुई र साइमन पटेलले एक विकेट लिए।

यसअघि गेटवेका लागि मुर्शिद इक्बालले १५ र कप्तान सबिर अन्सारीले ११ रन बनाए। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। डिएभीका लागि कमल शाहीले चार, कप्तान प्रसिद्ध जैसीले तीन र केशव अग्रवालले दुई विकेट लिए।

डिएभीले साबिक विजेता सैनिक आवासीय महाविद्यालयलाई ६ विकेट तथा गेटवेले मोक्षदा स्कुललाई १३१ रनले हराउँदै फाइनल यात्रा तय गरेका थिए।

सुझावित समाचार