समाजवादी प्रेस संगठन उपत्यका प्रदेश कमिटीको नयाँ कार्यसमिति चयन

शनिबार, २७ बैशाख, २०८२
डिजिटल संस्करण

समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको विशेष भेलाले विष्णु रैगाईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ। राजधानीमा आयोजित भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। भेलाले पत्रकारिता क्षेत्रलाई व्यावसायिक तथा मर्यादित बनाउनुपर्ने, पत्रकारको जीवनको सुरक्षा प्रत्याभूत गरिनुपर्ने, श्रमजीवी पत्रकारहरूको सामाजिक सुरक्षा हुनुपर्नेलगायत सातबुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ।

समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले भेलाको उद्घाटन गर्दै पत्रकारिता क्षेत्रले समयमै प्रवाह गर्ने सूचनाले लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउने भएकाले सञ्चार क्षेत्रमा देखिएका समग्र समस्या समाधान गर्नुपर्ने बताए।

संगठनले श्रमजीवी पत्रकारको हकहित अधिकार संरक्षण गर्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले खोजमूलक प्रकाशनका कार्य गर्न सुझाव दिए।

विश्व प्रेस काउन्सिल महासचिव एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको बताउँदै प्रेस र समाजको घनिष्ठ सम्बन्धले मात्र लोकतान्त्रिक पद्धति थप बलियो हुने विश्वास व्यक्त गरे।

संगठनको सल्लाहकारसमेत रहेका उनले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय बनाउन सत्यतथ्य र निष्पक्ष रूपमा समाचार प्रवाह गर्नुपर्नेमा जोड दिए।

सुझावित समाचार