गोदावरी मेयर कपमा तारकेश्वर र कोन्ज्योसोमको बराबरी

मंगलबार, २३ बैशाख, २०८२
डिजिटल संस्करण

काठमाडौंको तारकेश्वर नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन्।

मंगलबार विहान च्यासल मैदानमा सम्पन्न खेलमा तारकेश्वर र कोन्ज्योसोमले १–१ गोलको बराबरी खेलेका हुन्। वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रंगशालाको मैदानमा खेल हुन नसकेपछि च्यासल मैदानमा खेलाइएको थियो।

जारी प्रतियोगितामा यो पहिलो बराबरी हो। तारकेश्वरका लागि सुजन महर्जन र कन्ज्योसोमका लागि अनिल तामाङले गोल गरे। यो नतिजासँगै समूह ‘डी’बाट तारकेश्वर र कोन्ज्योसोमले एक–एक अंक जोडेका छन्।

खेलको म्यान अफ दि म्याच अनिललाई तारकेश्वरका मेयर कृष्णहरि महर्जन र कोन्ज्योसोमका प्रमुख कृष्णमान लामाले ट्रफि तथा नगद हस्तान्तरण गरे।

अब दुबै टोलीले कीर्तिपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्न बाँकी छ। बुधबार च्यासल मैदानमा महालक्ष्मी नगरपालिका र बाग्मती गाउँपालिकाबीच खेल हुने छ। उपत्यकाका २१ मध्ये १३ पालिकाबीच प्रतिस्पर्धा भइरहेको छ।

जेठ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख नगद पुरस्कार पाउनेछन्।

सुझावित समाचार