झिल्को : हरेक अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयका प्रिन्सिपलले हेर्नुपर्ने चलचित्र

मंगलबार, २३ बैशाख, २०८२
डिजिटल संस्करण

शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिल्को’ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ। डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्र ‘झिल्को’ले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको छ ।

चलचित्रको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरुपयोग र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको छ । चलचित्रमा एक बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छिन् भने उनीसँगै सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनिस श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहेको छ ।

‘झिल्को’ हेरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले यो चलचित्रले सम्पूर्ण समाजको पीडा बोकेको प्रतिक्रिया दिए । उनले भने, ‘एउटा परिवारभित्र एक सदस्यको कमी बुझाइ र अर्काको बहकाउमा लाग्दा कस्तो प्रकारको विघटन हुन्छ भन्ने कुरा चलचित्रले प्रभावकारी ढंगले देखाएको छ ।’ उनले थप भने, ‘अभिभावक र शिक्षक गम्भीर बन्न नसकेको अवस्था र त्यसले विद्यार्थीमा पार्ने असर, सीप र संस्कारसँग शिक्षालाई जोड्नुपर्ने आवश्यकता चलचित्रले स्पष्ट रूपमा प्रस्तुत गर्छ ।’

त्यसैगरी, प्याब्सनका केन्द्रीय महासचिव आर.बी. कटुवालले चलचित्र ‘झिल्को’लाई घर–घरको कथा बताउने चलचित्रको रूपमा व्याख्या गरे । ‘बच्चाहरूको पहिलो पाठशाला विद्यालय होइन, घर हो । र, अभिभावक नै उनीहरूको पहिलो गुरु हुन् भन्ने गम्भीर सन्देश चलचित्रले दिएको छ,’ उनले भने । हरेक अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयका प्रिन्सिपलले हेर्नुपर्ने चलचित्र रहेको बताउँदै उनले अभिभावक, शिक्षक, समाज र स्वयं बच्चाबिचको समन्वय नहुँदासम्म कुनै पनि बालकको समुचित विकास सम्भव नहुने कुरा ‘झिल्को’ले उठाएको बताए ।

पूर्वसचिव भीम उपाध्यायले चलचित्रले डिजिटल प्रविधिको प्रभावमाथि गहिरो प्रश्न उठाएको टिप्पणी गरे । ‘प्रविधिलाई दोष मात्र दिँदा समस्या समाधान हुँदैन, यसलाई स्विकार्दै समाधान खोज्नुपर्ने अवस्था आएको छ,’ उपाध्यायले बताए । उनको भनाइमा ‘झिल्को’ले बहुआयामिक समस्याहरू देखाउँदै त्यसको समाधान पनि बहुआयामिक दृष्टिकोणबाट खोजिनुपर्ने सन्देश दिएको छ ।

समग्रमा, ‘झिल्को’ले शैक्षिक क्षेत्र, अभिभावकत्व र प्रविधिको प्रयोगबिचको जटिल सम्बन्धमाथि गहिरो बहस गराएको छ । यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखहरूले समेत हेर्नुपर्ने चलचित्रका रूपमा विश्लेषण गरिएको छ ।

‘झोला’ निर्देशन गरेर ख्याति कमाएका यादवकुमार भट्टराईद्वारा निर्देशित यस चलचित्रलाई मिडिया फर कल्चर प्रा.लि.ले निर्माण गरेको हो । चलचित्रको छायांंकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो । चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।

See More On

सुझावित समाचार