लेखा समिति नेतृत्वले गिजोल्दै पोखरा र भैरहवा विमानस्थल अनियमितता प्रतिवेदन, सांसदले माग गर्दा पनि सभापतिले तोकेनन् छलफल गर्ने बैठकको मिति

सोमबार, २२ बैशाख, २०८२
डिजिटल संस्करण

१० अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित तयार भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन समितिको प्रतिवेदनमाथिको छलफल लेखा समितिले धकेलेको छ । 

आइतबारको बैठकमा सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले दिएको पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन छलफलका लागि समिति सदस्यहरूलाई वितरण गरिएको छ ।  छलफलको सुरुमै भैरहवा विमानस्थल छानबिन उपसमिति संयोजक रहेका पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले स्वार्थको द्वन्द्व हुने भनेर प्रश्न उठेको भन्दै उपसमितिमा नबस्ने जानकारी गराए । उनले भैरहवाको उपसमिति आफूले छाडेपछि पोखराको उपसमितिबाट पूर्वपर्यटनमन्त्री प्रेम आलेले छाड्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले पनि आलेलाई पोखराको उपसमिति सदस्यबाट अलग हुन सुझाव दिए । लगत्तै आलेले पोखराको उपसमिति छाड्ने जानकारी गराए । 

भट्टराईले र आलेले आआफ्नो जिम्मेवारी छाडेपछि दुवै प्रतिवेदन गिजोलिएका छन् । दुई पूर्वपर्यटन मन्त्रीले जिम्मेवारी छाडेर समितिलाई अपूर्ण बनाएपछि समिति सदस्य रहेका डा. अमरेशसिंहले भ्रष्टाचारलाई सहजीकरण गर्ने काम भइरहेको आरोप लगाए । ‘समितिले सरकारका अनियमिता छानबिन गरेर खबरदारी गर्नुपर्नेमा भ्रष्टाचारलाई सहजीकरण गर्ने काम भएको छ,’ उनले भने । 

उपसमितिका संयोजक तथा सदस्यले राजीनामा दिएपछि पोखरा र भैरहवा विमानस्थलबारेको प्रतिवेदन के हुने र कहिले बैठक बस्ने भन्ने निर्णय आइतबारको बैठकले गरेन । समिति सभापति पोख्रेलले पोखरा विमानस्थल प्रतिवेदनबारे थप अध्ययन गरेर अर्को बैठकमा छलफल गर्ने निर्णय सुनाए । त्यस्तै, भैरहवा विमानस्थलको उपसमिति सदस्यहरूबाटै संयोजक तोकेर चाँडै प्रतिवेदनलाई पूर्णता दिने निर्णय भएको उनले जानकारी दिए । समिति सदस्यहरूले बारम्बार अर्को बैठकको मिति तोक्न आग्रह गरे पनि उनले मानेनन् ।

माओवादी सांसद अमनलाल मोदीले उपसमितिबाट पेस भएको प्रतिवेदनलाई थप अध्ययन गर्नुनपर्ने बताए । ‘ठुलो टिमले अध्ययन गर्न गाह्रो हुन्छ भनेर उपसमितिमार्फत सानो टिमले अध्ययन गर्ने निर्णय भएअनुसार प्रतिवेदन प्राप्त भइसक्यो । अब यो प्रतिवेदनउपर थप छलफल गर्ने, अरू उपसमिति बनाउने भन्दा पनि निर्णय गर्नतिर जानुपर्छ,’ उनले भने ।

पोखरा विमानस्थलको अध्ययन उपसमिति सदस्यसमेत रहेका एमाले सांसद गोकुल बाँस्कोटाले प्रतिवेदनमा संशोधन गर्नुपर्ने आशय व्यक्त गरेका छन् । ‘प्रतिवेदनमा अध्ययन बाँकी होला । त्यसपछि बैठक गरौँ,’ उनले भने । उपसमितिमा बसेर अनियमितताको कांग्रेस सचेतक श्याम घिमिरेले प्रतिवेदन प्राप्त भइसकेपछि छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताए । 

छलफल टार्न सांसदसँग सभापति पोख्रेलको नोकझोक

आइतबारको बैठकमा पोखरा विमानस्थलको छानबिन प्रतिवेदन सबै सांसदलाई वितरण गरेपछि सभापति पोख्रेलले अर्को बैठकमा प्रतिवेदनबारे विस्तृत छलफल गर्ने भन्दै सामान्य सुझाव दिन आग्रह गरेका थिए । केही सांसदले बोलिसकेपछि सभापति पोख्रेलले पोखराको छानबिन प्रतिवेदनबारे थप सांसदलाई बोल्न नदिने गरी विषय टुंग्याउन खोजे । तर, लेखा समितिका पूर्वसभापतिसमेत रहेका कांग्रेस सांसद रामकृष्ण यादवले सबै सदस्यलाई बोल्न दिनुपर्ने बताए । सांसद यादव बोलिरहँदा बिचमै सभापति पोख्रेलले ‘तपाईँको भनाइसँग म सहमत छु, तर प्रतिवेदनका बारेमा खासै कुरा नगरौँ, अर्को बैठकमा छलफल हुने भएकाले त्यहाँ बोलौँ भन्ने कुरा हो,’ भनेका थिए । सभापति पोख्रेलले यसो भनेपछि सांसद यादवले अन्य समितिको तुलनामा लेखा समिति फरक रहेको भन्दै केही सुझाव दिए ।

माओवादी सांसद अमनलाल मोदीले सानो र छरितो उपसमिति बनाएर गरेको अध्ययन प्रतिवेदनबारे फेरि विस्तृतमा छलफल गर्नुको अर्थ नहुने बताए । उनले पनि छिटो मिति तोकेर बैठक बस्नुपर्ने र प्रतिवेदनलाई टुंग्याउनुपर्ने धारणा राख्दा सभापति पोख्रेलले सबैको अनुकूलतामा बैठक आह्वान गर्ने जानकारी दिएका थिए ।

त्यसपछि एकीकृत समाजवादीका सांसद प्रेम आलेसँग भने सभापति पोख्रेल सवाल–जवाफमै उत्रिए । आलेले केही समयअघिबाटै बोल्न समय मागे पनि सभापति पोख्रेलले आलेलाई रोक्दै अन्य सांसदलाई बोल्न समय दिइरहेका थिए । उनले १४ अर्ब लागतको पोखरा विमानस्थल निर्माण गर्दा २२ अर्ब भुक्तानी भएकाले सोझै आठ अर्ब भ्रष्टाचार भइसकेकाले अनियमितता भयो वा भएन भनेर प्रश्न गरिहाल्नुपर्ने ठाउँ नरहेको बताए । उनले प्रतिवेदनबारे छलफलका लागि अर्काे बैठकको मिति तोकेर आह्वान गर्न पनि सभापति पोख्रेललाई आग्रह गरे । तर, सभापतिले अर्को बैठकको मिति तोक्न आनाकानी गरे । ‘कहिले छलफल गर्ने हो, मिति तोकेर जाऔँ । मिति तोकिएन भने जति पनि समय लाग्ने भयो,’ आलेको यस्तो प्रस्तावलाई सभापति पोख्रेलले तुरुन्तै खण्डन गर्दै भने, ‘मैले अघि नै भनँे, प्रतिवेदन अध्ययन गरेर अर्को बैठकमा छलफल गर्ने । त्यतिवेलासम्म प्रतिवेदनबारे हामी एक हुने र छलफल गर्ने ।’

तर, सभापति पोख्रेललको यस्तो सुझावलाई आलेले मानेनन् र फेरि आग्रह गर्दै भने, ‘अर्को बैठकको समय तोक्नुस् न त ।’ समय तोक्नबाट पन्छिँदै सभापति पाख्रेलले फेरि भने, ‘तपार्इँले भनेर हुँदैन । जुन दिनलाई सजिलो हुन्छ, त्यो दिनलाई तोकिन्छ ।’ सभापति पोख्रेलले प्रतिवेदनबारेको छलफललाई धकेल्न चाहेको प्रस्ट संकेत पाएका आलेले पनि मिति तोकेर अर्को बैठक आह्वान गर्न जबर्जस्ती गर्दै भने, ‘लु, सबैले निर्णय गरौँ न त । छिटोभन्दा छिटो अर्को मिति तोकौँ ।’ सभापति पोख्रेलले छिटो बैठक राख्ने गरी मिति तोक्न आलेले गरेको प्रस्ताव अस्वीकार गरे । ‘त्यसरी जबर्जस्ती पाराले नभन्नुस्,’ उनले भने ।

आलेले मिति तोकेरै जानुपर्ने अडानलाई छाडेनन् । उनले कहिले बैठक बस्छ त भनेर सोधेको प्रश्नको जवाफमा सभापति पोख्रेलले भने, ‘यसबिचमा जहिले खाली हुन्छ, त्यही दिन राख्ने ।’ सभापति पोख्रेलले बैठकको मिति तोक्न आनाकानी गरेको हेरिरहेका कांग्रेस सांसद रामकृष्ण यादवले आउँदो बैठकको मिति तोकेर जानुपर्ने सुझाव दिए । तर, उनको प्रस्तावमा सभापति पोख्रेल मौन बसे । यादवलगत्तै बोलेका एमाले सांसद गोकुल बाँस्कोटाले प्रतिवेदनबारे थप अध्ययन आवश्यक रहेको भन्दै अर्काे मिति तोकिहाल्ने विषयमा अडान राख्न नहुने भन्दै सभापति पोख्रेलको पक्ष लिए ।

सुझावित समाचार