कुलमानलाई जसरी पनि गलत देखाउन श्वेतपत्रमा अझै तथ्यांक तोडमोड गरिँदै

शुक्रबार, १९ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई गलत देखाउन ऊर्जामन्त्री दीपक खड्काको योजनाअनुरूप प्राधिकरणसम्बन्धी विभिन्न तथ्यांकलाई थप तोडमोड गर्ने कार्य अझै भइरहेको छ । त्यसलाई अन्तिम रूप दिएर श्वेतपत्र जारी गर्ने तयारी रहेको मन्त्रालय स्रोतको भनाइ छ । 

११ चैतको मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । त्यसको भोलिपल्टै १२ चैतमा मन्त्री खड्काको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणको श्वेतपत्र जारी गर्ने निर्णय गरेका थिए । मन्त्री खड्काले प्राधिकरणको नाफालाई कागजी भएको भनेर समेत सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए । त्यो अवस्थामा प्राधिकरणको श्वेतपत्र जारी गर्ने निर्णयलाई महत्वपूर्ण मानिएको थियो । 

त्यो अवस्थामा गत १५ वैशाखको सञ्चालक समितिले श्वेतपत्रको अन्तिम मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको थियो, जुन १६ वैशाखमा जारी गर्ने तयारी थियो । तर, अन्तिम समयमा त्यो स्थगित भयो । श्वेतपत्रको उल्लिखित विवरण अनौपचारिक रूपमा बाहिरिसकेको छ । त्यसले विवादसमेत सिर्जना गरेपछि श्वेतपत्र जारी गर्ने कार्य स्थगित भएको थियो ।

प्राधिकरणका प्रवक्ता शिल्पकारले अबको केही दिनमा श्वेतपत्र जारी हुने बताए । ‘श्वेतपत्र जारी गर्न आन्तरिक तयारी भइरहेको छ । यसअघि बोर्डको निर्देशनअनुसार श्वेतपत्र जारी गर्ने कार्य रोकिएको थियो । बोर्डको निर्देशनअनुसार थप तयारी भइरहेको छ । तयारी सकिएपछि श्वेतपत्र जारी गर्नेछौँ,’ उनले बताए । उनले बोर्डले के निर्देशन दियो भन्ने विषयमा भने केही बताएनन् । पहिलोपटक भदौ ०७३ मा प्राधिकरणको कार्यकारी निर्देशक बनेका घिसिङले प्राधिकरणलाई सञ्चिति मुनाफामा लगेका थिए । असार ०७३ सम्म प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँले सञ्चिति नोक्सानीमा थियो । असार ०८१ सम्म आउँदा प्राधिकरणले त्यो सञ्चित नोक्सानी तिरेर करिब साढे ४७ अर्ब रुपैयाँ सञ्चित नाफा कायम गरेको छ ।  

See More On

सुझावित समाचार