जगदुल्लाको ठेक्कामा फर्जी कागजपत्र पेस गरेको उजुरी

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

१०६ मेगावाटको जगदुल्लाह हाइड्रोपावर कम्पनीको ठेक्कामा फर्जी कागजपत्र पेस भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत निकायमा उजुरी परेको छ । फर्जी कागजात पेस गर्ने चिनियाँ कम्पनीलाई मिलेमतोमा ठेक्का दिन लागिएको भन्दै अन्य कम्पनीले अनियमितताको आरोप लगाएका छन् । 

ठेक्काको प्राविधिक मूल्यांकनमा पास भएको चिनियाँ कम्पनी ज्याङसी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनलाई ऊर्जामन्त्री दीपक खड्कासहितको मिलेमतोमा ठेक्का दिन लागिएको आरोप लागेको छ । सो कम्पनीले हालसम्म जलविद्युत्को काम नै नगरेको र अन्य कम्पनीले अफ्रिकी देशमा गरेको कामलाई सो कम्पनीको भनेर ठेक्का हत्याउन खोजिएको आरोप लागेको छ । प्राविधिक रूपमा छनोट भएको अर्काे चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पाेरेसनले नै यससम्बन्धी उजुरी गरेको स्रोत बताउँछ । 

यो जलविद्युत्को ठेक्का करिब १३ अर्बबराबरको छ । २४ वैशाखमा आर्थिक प्रस्ताव खोल्ने भनिए पनि पहिले नै प्रस्ताव बाहिरिएको छ । जगदुल्ला हाइड्रोपावर स्रोतका अनुसार ज्याङसी कन्स्ट्रक्सनले १२ अर्ब १५ करोड तथा सिनोले १३ अर्ब १४ करोडको प्रस्ताव गरेको छ ।

ज्याङसीले नक्कली कागजपत्र पेस गरेर प्राविधिक मूल्यांकनमा पास गराइएकाले ठेक्का प्रक्रिया नै रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न निर्माण व्यवसायीले माग गरेका छन् । यसअघि यही ठेक्कामा मन्त्रालयमै रकम लेनदेन गरेको आरोप मन्त्री खड्कामाथि लागेको थियो । त्यतिवेला रद्द गरिएको ठेक्कामा फेरि सेटिङ भएको आरोप लागेको छ ।

सुझावित समाचार