एनएमबि बैंकले दिगो लगानीका लागि ६ करोड डलरको ‘ग्रिन बन्ड’ जारी गर्ने भएको छ । यसका लागि बैंकले अन्तर्राष्ट्रिय निकाय इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी), ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बिआइआई) र बिमा कम्पनी मेटलाइफबिच त्रिपक्षीय साझेदारी गरेको छ । यी तीन संस्थाको साझेदारीमा नेपालमै पहिलोपटक अमेरिकी डलर ६ करोडबराबरको हरित बन्ड जारी गर्न साझेदारीपत्रमा हस्ताक्षर भएको हो ।
यो सहकार्यले जलवायु परियोजनासम्बन्धी उद्यममा लगानी विस्तार गरी प्रत्यक्ष–अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य लिइएको छ । त्यसैगरी, देशको ऊर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको छ । बन्ड जारी गरी प्राप्त हुने रकम विशेष गरी सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता परियोजनामा लगानी विस्तार गरिने बैंकले जनाएको छ ।
‘एनएमबि बैंकको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भिœयाई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनीकरण गर्न थप सहयोग पुग्नेछ,’ बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलले सम्झौता कार्यक्रममा भने ।