हेटौँडामा शनिबार बिहान भएको स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन्। उनको हेटौँडा अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ। मकवानपुर प्रहरीका अनुसार शनिबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ पुष्पलाल पार्कअगाडि एमाले पार्टी कार्यलयनजिकै दुर्घटनामा परेका थिए।
कमलडाँडाबाट पार्टी कार्यालय आउने क्रममा पोखरेलले चलाएको प्र.३–०३–००१ प. ५८०७ नम्बरको स्कुटर एक्कासि अनियन्त्रित भई दुर्घटना भएको थियो। अन्दाजी ६२ वर्षीय पोखरेलको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा सामान्य रगत जमेको र बाहिरी भागमा समेत चोट लागेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको हेटौँडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए।
बेहोस अवस्थामा अस्पताल पुर्याइएका अध्यक्ष पोखरेलको अहिले होस आएको चिकित्सकले जानकारी दिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु र्यालले जानकारी दिए।