रामेछापमा आगलागीबाट दुई घर नष्ट, आगो निभाउने क्रममा दुई घाइते

शनिबार, १३ बैशाख, २०८२
डिजिटल संस्करण

गएराती घरमा जोडिएको विद्युत सर्ट भई घरमा आगलागी हुँदा मन्थली नगरपालिका– ११ गेलु स्थित गजपानीका फष्टबहादुर श्रेष्ठको दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।  अकस्मात घरमा आगो दनदन वलेपछि आगो निभाउने क्रममा घरधनी फष्टवहादुर र छिमेकी बुद्धिबहादुर श्रेष्ठ घाइते भएका छन् ।

बेलुका साँढे ९ वजे ठुलो आवाजसहित घरमा आगलागी सुरु भएको थियो । घरमा ग्याँस सिलिण्डर नभएकोले विद्युत मिटर पड्केर आगलागी भएको हुनसक्ने मन्थली नगरपालिका–११ गेलुका वडा अध्यक्ष भिमवहादुर थापामगरले जानकारी दिए । 

घरमा लागेको आगो स्थानियहरुले मात्र निभाउन नसकेपछि गएराती नै प्रहरी चौकी खिम्ती र फुलासीको पोखरीडाँडा प्रहरी चौकीवाट गएको प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयहरु मिलेर उक्त आगो विहान ३ बजे नियन्त्रणमा ल्याएका थिए । 

आगो नियन्त्रणमा आएपनि आगालागीबाट घरमा रहेको नगद साढे ६ लाख, सुन चाँदी र अन्न पात र लत्ता कपडा सवै जलेर पूर्णरुपमा नष्ट भएका छन् । सो आगलागीमा परी घरको भुई तलामा बाधिएका २५ वटा खसीबाख्रासमेत मरेका छन् । घरमा आगो लागेपछि बेहोस बनेकी फत्तवहादुरकी श्रीमतीसहित अन्य घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत मन्थली अस्पतालमा ल्याई उपचार थालिएको छ । 

See More On

सुझावित समाचार