जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोले लोकतन्त्र प्राप्त भएको झन्डै दुई दशक व्यतीत हुँदा पनि जनताले आधारभूत सुविधा पाउन नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आज शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। डा. महतोले आजबाट सुरु भएको संघीय संसद्को बर्खे अधिवेशन सफल बन्नुपर्ने र सदनमा प्रतिनिधित्व गर्ने सबै दलहरू बजेट निर्माणमा रचनात्मक रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘हामीले यो अधिवेशनमा अतिआवश्यक कानुनहरू बनाउनुपर्नेछ। शिक्षकहरू २४ दिनदेखि आन्दोलनरत छन्। लाखौँ विद्यार्थीको भविष्य अन्याेलमा पारिएको छ। नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ, तर शिक्षकहरू सडकमा उत्रिनुपरेको विडम्बनापूर्ण अवस्थामा हामी छौँ। यो अधिवेशनमा ऐन निर्माणलाई पनि उच्च प्राथमिकतामा राखिनुपर्ने कुरा शिक्षकहरूको आन्दोलनले पनि प्रतिबिम्बित गरिसकेको छ।’
निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू पनि आन्दोलनमा रहेका र निजामती कर्मचारीहरूले समेत आन्दोलनको तयारी गरिरहेकाे उल्लेख गर्दै उनले संवेदनशील बन्न सरकारलाई आग्रह गरे।
महतोले बजेट विकासमुखी बनाउन सरकारलाई सुझाव दिएका छन्। उनले भने, ‘लोकप्रियभन्दा पनि व्यावहारिक बजेट आउनु आजको आवश्यकता हो। नेपालमा बजेट कहिल्यै पनि नराम्रो आएकै छैन, तर कार्यान्वयन पक्ष निराशाजनक छ। पुँजीगत खर्चको दायित्व बढाउनुपर्छ। आजसम्मको व्यवहारले के पुष्टि गरेको छ भने अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ। पुँजीगत खर्च सबै मन्त्रालयको दायित्व बन्नुपर्छ। बजेट उत्पादनमुखी हुनुपर्छ।’