सिराहाको गोलबजार नगरपालिका– ४ स्थित माँ धमिनी डेरी उद्योगको गोप्य गोदाममा सुरक्षाकर्मीसहित भन्सारको टोलीले छापा मारी तस्करीमार्फत भण्डारण गरिएका सामानहरू बरामद गरेको छ ।
तस्करी गरिएका सामानहरू भण्डारण गरिएको गोप्य सूचनाका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र माडर भन्सार कार्यालयको संयुक्त टोलीले बिहीबार साँझ छापा मारेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार गोदाममा बरामद गरिएका सामानहरू र सामानसँग सम्बन्धित कागजातहरूको शुक्रबार भन्सार वा आन्तरिक राजस्व कसले हेर्ने हो यकिन गरी त्यसको आधारमा मूल्यांकन गरिँदै छ ।
गोदाम छापा मार्ने क्रममा भारतबाट भन्सार छलेर अवैध रूपमा ल्याइएका पाउडर दुध, चिनीलगायतका खाद्य वस्तुहरू भण्डारण गरिएको पाइएको प्रहरीले जनाएको छ। भन्सार कर्मचारी र सुरक्षाकर्मीहरूको टोलीले छापा मार्ने क्रममा तस्कर समूहका व्यक्तिहरूले हुलदंगा गर्ने प्रयास गरेपछि केही समय स्थिति तनावग्रस्त बनेको थियो । त्यसपछि सुरक्षाकर्मी र भन्सार टोलीले गोदाम सिल गरेर फर्किएको उनले बताए ।
बरामद गरिएका सामानको यकिन विवरण र मूल्यांकनपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। तस्कर गिरोहमार्फत भारतबाट भन्सार छलेर अवैध रूपले भित्र्याइएका पाउडर दुध, चिनीलगायतका खाद्यवस्तु गोलबजारमा भण्डारण गरी अन्यत्र बिक्री–वितरण हुँदै आएको बताइएको छ । प्रहरीका अनुसार त्यो विषयमा सामानसम्बन्धी कागजातको अध्ययन, खरिद, स्टक, बिक्रीसम्बन्धी विवरण हेरेपछि मात्र खुल्नेछ ।