धनकुटा नगरपालिकाले पुरुष सञ्जाल गठन गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै पुरुष सञ्जालको लागि निवेदन दिन आह्वान गरेको छ । लैंगिक हिंसा न्यूनीकरणका लागि पुरुष सञ्जाल गठन गर्न लागिएको सूचनामा उल्लेख छ ।
धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ– ‘लैंगिक हिंसा न्यूनीकरणका लागि पुरुष सञ्जाल गठन तथा सञ्चालन कार्यविधि २०८१’ अनुसार लैंगिक हिंसा न्यूनीकरण अभियानमा पुरुषहरूको सहभागिता र सहकार्य अभिवृद्धिका लागि पुरुष सञ्जाल गठन गर्न लागिएको छ।
धनकुटा नगर क्षेत्रमा बसोबास गर्दै आएका समाजसेवा, कलाकारिता, चलचित्र, गायन, नाटक, पत्रकारिता, साहित्य, खेलकुद, विज्ञान तथा प्रविधि, स्वास्थ्य, शिक्षा, सरकारी सेवा, राजनीति र व्यापार–व्यवसायजस्ता निजी तथा अन्य क्षेत्रमा संलग्न जोकोहीले पनि निवेदन दिन सकिने बताइएको छ।
प्रमुख प्रशासकीय अधिकृत राईद्वारा जारी गरिएको सूचनामा भनिएको छ– लैंगिक हिंसा न्यूनीकरणजस्तो सामाजिक सेवामा योगदान गर्न इच्छुक पुरुषहरूले १५ दिनभित्र वडागत सूचीमा आफ्नो नाम सूचीबद्ध गर्न सकिने उल्लेख छ ।