लोकतन्त्र दिवसमा एमालेको ‘युथ सेलिब्रेसन’

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण
लोकतन्त्र दिवसमा एमालेको ‘युथ सेलिब्रेसन’

लोकतन्त्र दिवसको अवसरमा एमालेले बिहीबार प्रदर्शनी मार्गमा आयोजना गरेको ‘युथ सेलेब्रेसन’ का सहभागी । तस्बिर : सञ्जित परियार/नयाँ पत्रिका

सरकारको नेतृत्व गरिरहेको एमालेले लोकतन्त्र दिवसमा ‘युथ सेलिब्रेसन’ आयोजना गरेको छ । सरकार र राजनीतिक दल तथा नेताप्रति नयाँ पुस्तामा विकर्षण पैदा भएको निष्कर्षसहित एमालेले लोकतन्त्र दिवसको अवसर पारेर बिहीबार युवाको सहभागिता र अगुवाइमा फरक प्रकारको ‘युथ सेलिब्रेसन’ कार्यक्रम सम्पन्न गरेको हो ।

भृकुटीमण्डपमा विभिन्न झाँकी र चर्चित कलाकारको प्रस्तुतिसमेत रहेको कार्यक्रममा प्रधानमन्त्री केपी ओली, महासचिव शंकर पोखरेलसहित ४० वर्षभन्दा कम उमेर समूहका पार्टीका युवाले विशेष सम्बोधन गरेका थिए । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, कपिलवस्तुको शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसका स्ववियु सभापति यास्मिन शेख, पिएन क्याम्पस पोखराका स्ववियु सभापति विष्णु पोखरेल, युवा डा. अरविन्द सिंह, दलित युवा प्रकाश सुनुवार, कोटेश्वर क्याम्पसकी स्ववियु सभापति उम्मेदवार शर्मिला भण्डारीलगायतले सम्बोधन गरेका थिए । त्यस्तै, पार्टीसम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघसहित विभिन्न ब्यान्डआबद्ध कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए । 

युवालाई लोकतान्त्रिक गणतन्त्रको महत्व बुझाउन र नयाँ पुस्तालाई राजनीतिमा जोड्ने कडीका रूपमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासचिव शंकर पोखरेलले बताए । ‘युवालाई परिवर्तनको यात्रामा जोड्न पुराना र नयाँ पुस्तालाई जोड्ने कडीका रूपमा सेलिब्रेसन आयोजना गरिएको हो,’ उनले भने । देशलाई समृद्ध र सुखी बनाउने अभिभारा आइरहेका वेला देशलाई कमजोर बनाउन चाहने कमजोर शक्तिहरू एमाले र यसको नेतृत्वमाथि प्रहार भइरहेको भन्दै उनले समाजलाई आशा जागृत गर्ने गरी युवा समुदाय अगाडि बढ्नुपर्ने बताए । विदेशमा रहेका युवालाई पनि सीप सिकिसकेपछि समृद्ध देश निर्माणको अभियानमा स्वदेश फर्किन पनि उनले आह्वान गरे । 

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्टन्ट गरेर अरूलाई गाली गरेर, गैरजिम्मेवार अभिव्यक्ति दिएर देश नबन्ने भन्दै त्यस्ता कुराप्रति युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिइन् । डंगोलले युवा समुदायले सही र गलत छुट्याएर अघि बढ्नुपर्ने बताइन् । ‘युवाहरू एकजुट बन्दा धेरै ठूला समस्या पनि समाधान हुन्छ, असम्भव कुरा पनि सम्भव हुन्छन्, युवाहरूले कहिल्यै हार मान्दैनन् र सफलता पनि पाउँछन्,’ उनले भनिन् ।

See More On

सुझावित समाचार