मुम्बई इन्डियन्स १८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो स्थानमा उक्लेको छ । मुम्बईले बुधबार सनराइजर्स हैदराबादमाथि सात विकेटको जित निकाली शीर्ष तीनभित्र आफूलाई समावेश गरेको हो । हैदराबादको मैदानमा प्राप्त जितसँगै मुम्बईले नौ खेलबाट १० अंक जोडेको छ । रनरेटमा मुम्बई तेस्रो स्थानमा उक्लेको हो । हारसँगै ४ अंकमा सीमित हैदराबाद नवौँ स्थानमा छ । शीर्ष स्थानको गुजरातले १२ अंक बनाएको छ ।
घरेलु मैदानमा पहिले ब्याटिङ गरेको हैदराबादले टे«न्ट बोल्टको घातक बलिङ सामना गर्न नसक्दा मजबुत योगफल खडा गर्न सकेन । हैदराबादले २० ओभरमा आठ विकेट गुमाएर १४३ रन बनायो । प्रत्युत्तरमा मुम्बईले १५.४ ओभरमा तीन विकेटको क्षतिमा १४६ रन जोड्यो । मुम्बईका लागि रोहित शर्माले ७० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । विल ज्याक्सले १९ बलमा २२ रन बनाए । सूर्यकुमार यादवले १९ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४० रनको योगदान दिए । यसअघि ब्याटिङ गरेको हैदराबादमाथि बोल्टले २६ रन खर्चेर चार विकेट लिएका थिए ।
उनको घातक बलिङका कारण हैदराबादले ४.१ ओभरमा चार विकेट गुमाएर १३ रन जोडेको थियो । त्यसपछि हेन्रिक क्लासेनले ४४ बलमा ७१ रनको आक्रामक इनिङ्स खेले । उनले नौ चौका र दुई छक्का प्रहार गरे । अभिनभ मनोहरले ३७ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ४३ रन जोडे ।