- ट्रम्पको उच्च भन्सार करले उत्पन्न गरेको गहिरो चिन्ताबिच जस्टिन ट्रुडोले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै क्यानडाको चुनावी अंकगणितमा हेरफेर
क्यानडामा २८ अप्रिलमा आमनिर्वाचन हुँदै छ । यस निर्वाचनबाट मार्क कार्नी र पियरे पोलिएभमध्ये एकजना प्रधानमन्त्री बन्ने मार्ग खुल्नेछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाको प्रधानमन्त्रीको रूपमा लगभग एक दशक बिताएपछि राजीनामा दिने घोषणा गरे । लिबरल पार्टीको आन्तरिक कलह र प्रधानमन्त्रीका रूपमा ट्रुडोको बढ्दो अलोकप्रियताले उनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वी, त्यसमा पनि विशेषतः कन्जर्भेटिभ पार्टीको सामना गर्न अक्षम देखाइसकेको थियो । ट्रुडोले राजीनामा दिँदाको समयमा उनको लिबरल पार्टी मतसर्वेक्षणमा प्रमुख प्रतिद्वन्द्वी कन्जर्भेटिभ पार्टीभन्दा २५ अंकले पछाडि थियो ।
ट्रुडोको राजीनामापछि लिबरल पार्टीमा नयाँ नेतृत्वको दौड सुरु भयो । ‘बैंक अफ क्यानडा’ र ‘बैंक अफ इंग्ल्यान्ड’का पूर्वगभर्नर मार्क कार्नीले निर्णायक विजय हासिल गरे । मार्च ९ मा सत्तारुढ लिबर पार्टीको नेता चुनिएलगत्तै उनले प्रधानमन्त्रीको रूपमा शपथ लिए । विगतमा कहिल्यै राजनीतिक पद धारण नगरेका कार्नीले प्रधानमन्त्री पदमा आसीन भएको नवौँ दिनमै मध्यावधि चुनावको घोषणा गरे ।
ट्रुडोले राजीनामाको घोषणा गरेको केहीपछि डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा कार्यकाल सुरु गरे । सत्ता सम्हालेपछि ट्रम्पले क्यानडाविरुद्ध विनाशकारी कर लगाए । त्यसबाहेक उनले पटक–पटक क्यानडालाई अमेरिकामा गाभेर ५१औँ राज्य बनाउने धम्की दिन थाले । क्यानडाका सरकारका प्रमुखका रूपमा कार्नीसामु दुई प्रमुख समस्या थिए– ट्रम्पले निम्त्याएको आर्थिक खतरा र संसद् (हाउस अफ कमन्स) सदस्य नभएको असहज अवस्था । यसले गर्दा उनी विपक्षी दलका लागि राजनीतिक प्रहारको जोखिममा थिए । जसविरुद्ध उनले जवाफी प्रहार गर्न सक्दैनथे । । त्यसैले, प्रत्येक चार वर्षमा हुनुपर्ने क्यानडाको संसदीय चुनाव खासमा अक्टोबर २०२५ सम्ममा हुनुपर्ने भए पनि उनले त्यसअगावै चुनाव घोषणा गरे ।
त्यसबाहेक अर्को राजनीतिक कारणले पनि यसमा भूमिका खेलेको छ । ट्रुडोको राजीनामाअघिसम्म राजनीतिक बहसमा कन्जर्भेटिभ दलले चुनाव जित्ने निश्चित भएको चर्चा हुन्थ्यो । तर, ट्रम्पको आक्रामकतापछि कन्जर्भेटिभप्रतिको समर्थनमा तीव्र गिरावट आएको छ । द्रुत गतिमा परिवर्तन भइरहेको यस भावनाबाट फाइदा लिने उद्देश्यले कार्नीले तत्काल संघीय चुनावलाई उत्तम विकल्प माने ।
के छन् प्रमुख प्रतिस्पर्धीका वाचा ?
अघिल्लो आमनिर्वाचनबाट बनेको संसद्मा पाँच राजनीतिक दलले प्रतिनिधित्व गरेका थिए । तथापि, क्यानडाको राजनीतिमा दशकौँदेखि देशका दुई प्रमुख दलमध्ये एकका प्रधानमन्त्री बन्ने परम्परा स्थापित छ । विगतमा जस्तै यसपटक पनि प्रधानमन्त्रीका लागि दुई मुख्य विकल्प हुन्, लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री मार्क कार्नी र विपक्षी दल कन्जर्भेटिभ पार्टीका नेता पियरे पोलिएभ ।
ट्रम्पको आगमनपछि क्यानडाको आर्थिक सुरक्षा र सार्वभौमिकताबारे व्यापक चिन्ताबिच वामपन्थी दल न्यु डेमोक्रेटिक पार्टी, सार्वभौमसत्तावादी ‘ब्लक क्वेबेका’ र ग्रिन पार्टीजस्ता विपक्षी आवाज सान्दर्भिक रहन नै संघर्ष गर्नुपर्ने अवस्था आएको छ । संयुक्त राज्य अमेरिकासँग क्यानडाको सम्बन्धका विषयमा संघीय नेताबिच थोरै मात्र भिन्नता छ । दुई प्रमुख दलका नेताले क्यानडाले कहिल्यै आफ्नो सार्वभौमिकता नत्याग्नेमा जोड दिएका छन् । तथापि, दुई नेताले महँगी र आवासको असहजतालाई स्वीकारे पनि त्यसको समाधानका लागि अलग–अलग उपाय सुझाएका छन् ।
पोलिएभले घर निर्माणको कामलाई सहज बनाउन हाल कायम नियम कटौती गर्ने, सरकारको भूमिका र आकार घटाउने वाचा गरेका छन् । यसविपरीत, कार्नीले व्यापकस्तरको निर्माण प्रयासमा सरकारको भूमिका रहने बताएका छन् । चर्को भाषणबाजीका लागि परिचित पपुलिस्ट नेता पोलिएभ आफ्ना समर्थकमाझ निकै लोकप्रिय छन् । उनले राजनीतिक अभिजात वर्गद्वारा बेवास्ता गरिएको र उपहास गरिएको वर्गलाई आवाज दिएको समर्थकको तर्क छ । पोलिएभले आफू प्रधानमन्त्री भए अपराधीमाथि कठोर कदम उठाउने र गम्भीर प्रकृतिका अपराधका लागि सजाय बढाउने बताएका छन् । यसो गरिए देशको अधिकार र स्वतन्त्रताको बडापत्रको उल्लंघन हुने स्विकार्दै उनले संवैधानिक संयन्त्र प्रयोग भए पनि वाचा पूरा गर्ने बताएका छन् ।
कार्नीले भने आफ्नो आर्थिक र व्यावसायिक अनुभवका आधारमा चुनाव अभियान चलाइरहेका छन् । उनले असन्तुष्ट मतदातालाई आकर्षित गर्ने प्रयासमा पार्टीलाई राजनीतिक समझदारतर्फ धकेलेका छन् । कन्जर्भेटिभहरूले आफ्नो आक्रमणमा कार्नीको विगतलाई औँल्याउँदै लगानी फर्म ‘ब्रुकफिल्ड’को अध्यक्ष हुँदा उनले करका छिद्र दुरूपयोग गरेको आरोप लगाएका छन् । त्यसबाहेक, विवादास्पद कार्बन कर हटाउनेलगायत आफ्ना नीतिगत प्रस्ताव चोरेको कार्नीमाथि कन्जर्भेटिभले आरोप लगाएका छन् ।
क्यानडाको संघीय चुनाव देशका ३४३ सिटका लागि हुने गर्छ । ब्रिटिस वा वेस्टमिन्स्टर प्रणाली अपनाउने क्यानडामा संसद्मा सबैभन्दा धेरै सिट जित्ने पार्टीले सामान्यतया सरकार बनाउँछ । लिबरल वा कन्जर्भेटिभमध्ये एकले १७२ वा सोभन्दा बढी सिट जिते भने तिनले बहुमतको सरकार बनाउन पाउनेछन् । बहुमतभन्दा कम सिट जिते भने तिनले कानुन पारित गर्न अन्य दलसँग गठबन्धन गर्नुपर्ने हुन्छ । सन् २०२१ मा, लिबरलहरूले बहुमत जित्न असफल भएपछि न्यु डेमोक्रेटिक पार्टीसँग गठबन्धन सरकार बनाएका थिए ।
सर्वेक्षणले के भन्छन् ?
फेब्रुअरीसम्म कन्जर्भेटिभ पार्टीले लिबरल पार्टीभन्दा २५ अंकको अग्रता हासिल गरेको थियो । सर्वेक्षणकर्ता संस्थाहरूले त्यो वेला चुनाव गरिए कन्जर्भेटिभ पार्टीले दशकौँयताकै ठुलो संसदीय बहुमत हासिल गर्ने सम्भावना ९९ प्रतिशत रहेको बताएका थिए । तर, जसै ट्रम्पले क्यानडाप्रति आक्रामक अडान लिन थाले, कन्जर्भेटिभको अग्रता चकनाचुर हुँदै गयो । कन्जर्भेटिभहरूको अग्रता मात्र गुमेन, अहिले उनीहरू लिबरलभन्दा पछाडि परेका छन् । अहिले मतदाताको सर्वेक्षण गर्ने क्यानडाका १२ वटा सर्वेक्षण संस्थाले आगामी निर्वाचनमा लिबरलहरूको बहुमतको सरकार बन्ने सम्भावना उच्च रहेको बताइरहेका छन् । देशका सबैभन्दा धेरै मतदाता भएको क्षेत्रमा लिबरलप्रतिको समर्थन झन् उच्च हुँदा कन्जर्भेटिभ पार्टीका नेतामा निराशा बढिरहेको छ ।
द गार्जियनबाट