१२ कक्षाको परीक्षा शान्तिपूर्वक सञ्चालन हुने वातावरण मिलाउन मानव अधिकार आयोगको निर्देशन

सोमबार, ८ बैशाख, २०८२
डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकहरूको समस्या वार्ताबाट छिटो समाधान गरी शिक्षाको अधिकारमा अवरोध हुने वातावरण नबनाउन आग्रह गरेको छ । ५५ लाख विद्यार्थीको शिक्षा प्राप्त गर्ने अधिकार हनन भएको भनी अभिभावक संघ नेपालले यस आयोगको ध्यानाकर्षण गराएकोमा आयोगले समस्या समाधानका लागि सरकारलाई पत्राचार गरेको हो । 

पत्रमा नेपालको संविधानको धारा ३१ र ३९ द्वारा प्रदत्त बालबालिकाको मौलिक हक संरक्षण गर्दै आन्दोलनरत शिक्षक महासंघसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न र कक्षा १२ को परीक्षा शान्तिपूपर्वक सञ्चालन हुने वातावरण मिलाउन अनुरोध गरिएको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, ‘समयमा नै समस्याको सम्बोधन हुन नसकेमा त्यसबाट लाखौँ विद्यार्थीमा मनोवैज्ञानिक रूपमा दूरगामी असर पर्न सक्ने, शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन सक्ने र शैक्षिक क्यालेन्डर नै प्रभावित भई समग्रमा शिक्षा प्रणालीमा नै नकारात्मक प्रभाव पर्न सक्ने हुँदा यस विषयमा गम्भीर भई वार्ताको माध्यमबाट समस्या समाधान गरी सहज र शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन हुने वातावरण मिलाई शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आयोग आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारसमक्ष पुनः अनुरोध गर्दछ ।’ 

सुझावित समाचार