पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा पुल निर्माण थालिएपछि खुसी भएका स्थानीय निराश बन्न थालेका छन् । पुल बन्न थालेको १३ वर्ष बित्दै गर्दा मुलुकमा ११ जना प्रधानमन्त्री फेरिए, तर पुल निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दाको सास्ती उस्तै छ ।
दैनिक कामका लागि कमला नदी वारपार गर्नैपर्ने स्थानीय बासिन्दा, हुलाकी सडक हुँदै धनुषा र सिराहातर्फ आवतजावत गर्नेहरूले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् । गत साता सामान्य बर्खा हुँदा आएको बाढीले कमला हुँदै धनुषातर्फ जाने क्रममा विवाहको टीकाटालोका लागि कोसेली बोकेको स्कर्पियो फसेपछि ट्याक्टरले निकाल्यो ।
कमला तटमा पर्ने सिराहा नगरपालिका– ६ बसबिट्टाका वडाध्यक्ष इन्द्रजित यादव भन्छन्, ‘सामान्य बर्खामै समस्या छ, मनसुन लागेपछि अवस्था झन् कष्टकर हुनेछ । कमलामा बन्न थालेको पुल अन्तिम चरणको काम हुँदै गर्दा बाढीले भासिएपछि करिब चार वर्षको अवधिमा दर्जनौँपटक मन्त्री, सांसदहरू आए तर पुल पुनर्निर्माण सुस्त रह्यो,’ उनले भने ।
रोकियो काम, ठेक्का तोड्ने तयारी
ठेक्का सम्झौताअनुसार कमला पुल ११ वर्षअगावै निर्माण सम्पन्न भई सञ्चालन भइसक्नुपर्ने थियो, तर पटकपटक म्याद थपिएर नदी नियन्त्रण र पहुँच मार्गबाहेक पुलको अन्तिम चरणको निर्माण चलिरहेका वेला १७ असार ०७८ मा बाढीले पुलको सिराहातर्फ दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फ तेस्रो पाया भासिएको थियो ।
त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फ तेस्रो पाया भासिएको थियो । पाया भासिएपछि सिराहातर्फ गत पुसको तेस्रो सातादेखि थालिएको मर्मत कार्य करिब एक महिनादेखि रोकिएको छ ।
जनकपुरधामस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायका अनुसार कमला पुलको डिजाइन र निर्माण दुवै काम गर्दै आएको ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सले बर्खा लाग्नुअघि काम सक्ने भन्दै आएको भए पनि करिब एक महिनादेखि काम रोकेको बताए ।
अन्तिमपटकका लागि ०८२ असारसम्मको म्याद थप गरिएको बिल्डर्सले भासिएको पायाको करिब आठ करोड रुपैयाँ बिमा रकम नपाएको भन्दै काम रोकेको बताए । ‘निर्देशनालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने, ‘ठेक्का तोडिएसँगै व्यवसायीलाई कालोसूचीमा राखिनुका साथै जरिवाना असुलिनेछ ।’
कालोझन्डादेखि अनशनसम्म
गत २६ चैतमा नेकपा एमाले सिराहाको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्न आएका प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउन स्थानीय जनप्रतिनिधि र युवाहरूले कमला पुलको पुनर्निर्माण छिटो सक्न माग गर्दै कालोझन्डा प्रदर्शन गरेका थिए ।
स्थानीय युवाहरूले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले करिब ६ वर्षअगाडि गरेको प्रतिबद्धता स्मरण गराउँदै पुनर्निर्माणको काम छिटो सिध्याउन कालोझन्डा प्रदर्शन गरेका थिए । १९ माघ ०७५ मा सिराहामा आयोजित सहिद हेमनारायण यादवको स्मृतिलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले २ वैशाख ०७७ भित्र नै पुलको काम सम्पन्न हुने दाबी पूरा नभएपछि स्थानीय आक्रोशित छन् ।
स्थानीयले गत फागुनको तेस्रो हप्ता तराई–मधेश जागरण अभियान हुलाकी सडक हुँदै धनुषा प्रवेश गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत पुनर्निर्माणका लागि ध्यानाकर्षण गराएका थिए ।
कमला नदीमा ४६९.२ मिटर लामो पुल बनाउन ३१ जेठ ०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सम्पन्न गर्ने म्याद पटक–पटक थप हुँदै अन्तिमपटक भएको सम्झौताअनुसार ३० असार ०८० तोकिएको थियो ।
पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो । २४ वैशाख ०८० मा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र बिल्डर्सबिच ०८१ असार मसान्तसम्म भासिएको पुलको पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।
बल्ल थालिँदै सिराहा–कमला सडक
हुलाकी सडकअन्तर्गत सिराहा सदरमुकामको महावीर चोकदेखि कमलासम्म एक हजार पाँच सय मिटर सडक गत चैतको अन्तिम सातादेखि निर्माण थालिएको छ । ललितपुरको ढुकुचु निर्माण सेवाले ३० असार ०७४ मा गरेको सम्झौताअनुसार ३१ चैत ०८१ भित्र सडक निर्माण गरिसक्नुपर्ने सडक म्याद गुज्रिनुअगावै थालेर म्याद थपको प्रक्रिया अगाडि बढाइएको इन्जिनियर रायले बताए ।
उनका अनुसार सिराहाबाहेक धनुषातर्फ चार किलोमिटर सडकसमेत ढुकुचुले नै निर्माण गर्नेछ । सिराहा सदरमुकामदेखि करिब ६ किलोमिटर पूर्व अर्नमा र औरही जोड्ने हुलाकी सडकअन्तर्गत सहजा खोलाको पुल निर्माण सुस्त छ । जनकपुरस्थित सुगम निर्माण सेवाले २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको आरसिसी पुल १६ मंसिर ०७९ मा गरेको सम्झौताबमोजिम दुई वर्षमा सम्पन्न भइसक्नु पर्ने थियो, तर म्याद गुज्रिएको ६ महिनाभन्दा बढी भइसक्दा पुलको दुवैतर्फको पाया मात्र ठड्याइएको छ ।
औरही गाउँपालिका– १ दरहैया गाउँको हुलाकी सडकको बक्स कल्भर्ट र सहजाको पुल गरी भ्याटसहित ११ करोड ५४ लाख १६ हजार ३७ रुपैयाँ १६ पैसाको ठेक्का लिएको निर्माण कम्पनीले दरहैयामा त झन् हात समेत हालेको छैन ।