अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतमा

सोमबार, ८ बैशाख, २०८२
डिजिटल संस्करण
अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतमा

तस्बिर : एएनआई

संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि नयाँदिल्लीको पालम एयरपोर्टमा अवतरण गरेका छन्। उपराष्ट्रपति भान्सको चारदिने भ्रमण बिहीबारसम्म जारी रहने जनाइएको छ।

परिवारसँगै भारत भ्रमणमा आएका उपराष्ट्रपति भान्सलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गरे। आजै उपराष्ट्रपति भान्स परिवारले अक्षरधाम मन्दिर भ्रमण गरेका छन्।

उनले साँझ ६ः३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै निवासमा भेट्ने कार्यक्रम छ। भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्धलगायतका विभिन्न सवालमा छलफल हुने अपेक्षा गरिएको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत हप्ता मिडिया ब्रिफिङमा आफूहरूबिच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै निःसन्देह सबै सान्दर्भिक सवालहरूमा छलफल हुने र सम्बन्ध थप प्रगाढ हुने बताएका थिए। 

नयाँदिल्ली भ्रमणपछि भान्स परिवारले भोलि मंगलबार जयपुर र बुधबार आगरा भ्रमण गर्ने र बिहीबार भारतबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

सुझावित समाचार