सरकार–राप्रपा आमने–सामने : निषेधित क्षेत्र तोड्ने राप्रपाको औपचारिक निर्णय

अराजक भए कारबाही गर्ने गृहको चेतावनी

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण
सरकार–राप्रपा आमने–सामने : निषेधित क्षेत्र तोड्ने राप्रपाको औपचारिक निर्णय

फाइल तस्बिर

आइतबार काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने राप्रपाको औपचारिक निर्णय छ । राप्रपाको यो निर्णयले आइतबारको प्रदर्शन अराजक र तनावपूर्ण हुने जोखिम छ । १५ चैतको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइको मागसहित राप्रपाले प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

४ चैतको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, ‘सरकारले शान्तिपूर्ण भेला हुन पाउने, प्रदर्शन गर्न पाउने मौलिक अधिकारलाई वञ्चित गरेर निषेधित क्षेत्र तोकी संकुचित बनाउँदै लगेकाले निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरिएको छ ।’

गत १५ चैतको हिंसात्मक प्रदर्शनबाट राप्रपाका नेताहरू धवलशमशेर राणा र रवीन्द्र मिश्रसहितका नेता–कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूको रिहाइ माग गर्दै राप्रपाले आन्दोलन गर्दै आएको छ ।

अराजक भए कारबाही गर्ने गृहको चेतावनी
गृह मन्त्रालयले निषेधित क्षेत्र नतोड्न र आन्दोलन अराजक नबनाउन राप्रपालाई चेतावनी दिएको छ । आन्दोलन अराजक बनाइए कारबाही गरिने मन्त्रालयको चेतावनी छ । शनिबार प्रेस विज्ञप्ति प्रकाशन गरी मन्त्रालयले अराजक गतिविधिमा संलग्न नहुन पनि आग्रह गरेको छ । ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सैह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो–सुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृहको विज्ञप्तिमा छ । 

प्रहरीको विशेष सुरक्षा योजना 
प्रदर्शनमा हुन सक्ने हिंसात्मक योजना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । शनिबार उपत्यकाका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीबिचको संयुक्त बैठकले गत १५ चैतमा जस्तो आन्दोलन अराजक भए तत्काल नियन्त्रण लिने गरी योजना बनाइएको एक प्रहरी अधिकारीले बताए । 

सर्यो शिक्षक आन्दोलनको समय 
शिक्षकको आन्दोलन बिहानका लागि सारिएको छ । राप्रपा र शिक्षकको आन्दोलन एकै ठाउँमा हुँदा झडप हुन सक्ने भएकाले बिहान ९ देखि १२ बजेसम्म शिक्षकले आन्दोलन गर्ने भएका छन् ।

See More On

सुझावित समाचार