नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम साढे आठ अर्बमाथि

मंगलबार, २ बैशाख, २०८२
डिजिटल संस्करण

नयाँ सालको पहिलो कारोबार दिनमा सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। आज मंगलबार नेप्से परिसूचक २७.१४ अंकले बढेर दुई हजार ६८९.२२ विन्दुमा कायम भएको हो।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले बढेको छ। आज ३२० कम्पनीका दुई करोड १८ लाख ४१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँबराबरको कारोबार भएको हो।

नेप्सेका १३ समूहमध्ये म्युचल फन्ड र व्यापार एक प्रतिशतभन्दा कमले ओरालो लागे। सर्वाधिक बढेका विकास बैंक र लगानी समूहमा दुई प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

बजार बढ्दा आज कर्पोरेट डेभलपमेन्ट बैंक,  ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र गुराँस लघुवित्त नौ प्रतिशतभन्दा धेरैले बढेका छन्।

यता, बलेफी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयर मूल्यमा नाै प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ।
 

सुझावित समाचार