वीरगन्ज झडपमा संलग्नमाथि कारबाही गर्ने सर्वदलीय बैठकको निर्णय

सोमबार, १ बैशाख, २०८२
डिजिटल संस्करण
वीरगन्ज झडपमा संलग्नमाथि कारबाही गर्ने सर्वदलीय बैठकको निर्णय

आइतबार बसेको सर्वदलीय बैठक

सर्वदलीय बैठकले पर्साको वीरगन्जमा शनिबार भएको झडपमा संलग्नमाथि कारबाही गर्ने निर्णय गरेको छ । शोभायात्राका क्रममा दुई समूहबिच भएको झडपपछि उत्पन्न तनावलाई रोक्न आइतबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा बसेको स्थानीय राजनीतिक दलका नेता, हिन्दु धर्मका अगुवा, मुस्लिम धर्मका अगुवा र स्थानीय प्रशासनबिच संयुक्त सर्वदलीय बैठकले विभिन्न निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बैठकले हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको झडपमा संलग्नको विस्तृत छानबिन/अनुसन्धान गरी कारबाही गर्ने निर्णय भएको छ ।

यस्तै अन्तरधार्मिक साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रहेर कानुनी कारबाही प्रक्रियामा सहयोग पु¥याउनु, घटनामा घाइते भएकालाई निःशुल्क उपचारको व्यवस्था गर्ने, घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय भएको छ । धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियार प्रदर्शन गरेमा कारबाहीको दायरामा ल्याउने निर्णयमा समेत भएको छ । यस्तै, जिल्लामा सञ्चालित सबै धार्मिक संघसंस्था तथा संस्थाबाट सञ्चालित विद्यालय/मदरसा इत्यादि सूक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने निर्णय भएको हो ।

सद्भाव कायम राख्न अपिल
बैठकले सामाजिक सद्भाव कायम गर्न सर्वसाधारणसँग अपिलसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल प्रहरीका पर्सा प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरीका पर्सा प्रमुख एसपी राधेश्याम धिमाल, नेपाली सेनाका वीरगन्जस्थित श्रीजंग गण तथा विभिन्न दलका जिल्ला प्रमुख एवं प्रतिनिधि सम्मिलित बैठकले तीनबुँदे प्रतिबद्धता जाहेर गर्दै यस्तो अपिल गरेको हो ।

प्रतिबद्धतामा शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका र्याली, बन्द आदि कार्यक्रम एवं गतिविधि कुनै पनि संघसंस्था एवं समुदायले नगर्ने प्रतिबद्धतासहित सामाजिक सद्भाव कायम गर्न सबै आमजनसमुदायमा अपिल गरिएको छ ।

शनिबार हनुमानजयन्ती शोभायात्राका क्रममा उत्पन्न विवादका क्रममा घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी, आमनागरिकको उपचार सरकारले गर्नुपर्ने माग बैठक गरिएको थियो । बैठकमा कांग्रेस पर्साका कार्यवाहक जिल्ला सभापति रामनारायण कुर्मी, एमालेका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, माओवादीका जिल्ला अध्यक्ष विजय महतो, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, जसपाका तबरेज अहमद, आमजनता पार्टीका जिल्ला अध्यक्ष भोला पटेल, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफलगायत सहभागी थिए । शोभायात्रा आयोजकतर्फबाट दीपक पटेल, अभिषेक तिवारीलगायत सहभागी थिए । 

कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
वीरगन्जमा शनिबारदेखि जारी कर्फ्यु आइतबार मध्यरातिबाट हटाइएको छ । सर्वदलीय बैठकले दोषीमाथि कानुनी कारबाही अघि बढाउने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु हटाएको हो । तर, अर्काे आदेश जारी नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी भएको छ । परिस्थिति सामान्य नभएकाले भेला, सभा र जुलुसमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

घाइतेको नारायणी अस्पतालमा उपचार हुँदै
झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरीसमेत घाइते भएका छन् । दुवै समूहबिच ढुंगा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका थिए । त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठजना सशस्त्र प्रहरी घाइते भएका छन् । यस्तै, ढुंगा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ जना घाइते भएका थिए । नारायणी अस्पताल वीरगन्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरी ४३ जनाको उपचार भइरहेको छ । 

सुझावित समाचार