म्यानमार भूकम्प : सेवा प्रदान गरी स्वदेश फिर्ता भएको टोलीलाई जंगी अड्डामा सम्मान

आइतबार, ३० चैत, २०८१
डिजिटल संस्करण

​मित्रराष्ट्र म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारका लागि खटिई स्वदेश फिर्ता भएको नेपाली सेनाको टोलीलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्मान गरेका छन्।

नेपाली सेनाका रथी, अधिकृत, पदिक तथा अन्य दर्जाका २३ जनालाई प्रधान सेनापति सिग्देलले आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबिच प्रधान सेनापति प्रशंसा निसान प्रदान गरेका हुन्।

म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूलाई तत्काल स्वास्थ्य उपचार प्रदान गर्न नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाको चिकित्सकीय, बन्दोबस्ती सहायता र क्रु मेम्बरसहितको टोली चैत २० गते म्यानमार प्रस्थान गरी चैत २९ गते स्वदेश फिर्ता भएको थियो।

​शल्यक्रिया विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरूसहित खटिएको नेपाली सेनाको चिकित्सकीय टोलीले म्यानमारको म्यान्डलेस्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाडजोर्नीसम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओपिडी सेवा प्रदान गरेको थियो।

सुझावित समाचार