सिराहा एमालेको अध्यक्षमा अशोक यादव सर्वसम्मत

आइतबार, ३१ चैत, २०८१
डिजिटल संस्करण

नेकपा एमाले सिराहाको ११औँ जिल्ला अधिवेशनको बन्द सत्रले दुई दिन ढिलो गरी अशोक यादवको अध्यक्षतामा ११ जना पछि थप्ने गरी १३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । 

जिल्ला कमिटीका लागि पाँच पदाधिकारीसहित १३५ सदस्य रहनुपर्नेमा ११ जनाको मनोनयनको क्रममा कागजात नपुगेकाले पछि थप्ने गरी शनिबार राति सर्वसम्मत रूपमा १२४ जना निर्वाचित भएको बन्द सत्रका अध्यक्षमण्डलका अध्यक्ष गंगाप्रसाद यादवले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटी उपाध्यक्षमा सिराहा नगरपालिकाका प्रमुख डा. नवीन यादव, सचिव प्रदीप महासेठ निर्वाचित भएका छन् ।

जिल्ला कमिटीमा रहने दुई उपसचिवमा धनगढीमाई नगरका प्रमुख शिवशंकर महतो र खेमलक्ष्मी श्रेष्ठ तथा बाँकी सदस्य सर्वसम्मत निर्वाचित भएको उनले बताए । 

अध्यक्षमा सर्वसम्मत यादव पार्टी सचिव रघुवीर महासेठ समूहका हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी ०७४ को निर्वाचनमा नेकपा एमालेबाट मधेश प्रदेश सभा सदस्य निर्वाचित भएका थिए, जतिवेला पार्टीको जिल्ला उपसचिव थिए ।

पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका यादव ०७९ को निर्वाचनमा पुनः प्रदेश सभा सदस्यको उम्मेदवार भए पनि पराजित भए । त्यसको एक वर्ष नबित्दै पुनः एमालेमा फर्किएका उनी पार्टीको मधेश प्रदेश कमिटी सदस्यको भूमिकामा थिए । 

जिल्ला नेतृत्वका लागि रस्साकस्सी
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले २६ चैतमा जिल्ला अधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । त्यसको भोलिपल्ट २७ चैतको दिउँसोदेखि सुरु भएको बन्द सत्रमा जिल्लामा छुट्टै गुट चलाएका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ र सचिव रघुवीर महासेठ पक्षको जिल्ला नेतृत्वका लागि निरन्तर चार दिनसम्म रस्साकस्सी चल्यो । 

महासेठ पक्षमा खुला रूपले लागेका सुखीपुर नगरपालिकाका प्रमुख रहेका पार्टीका पूर्व मधेश प्रदेश अध्यक्ष रामऔतार यादवसहित उनका पक्षधर नेताहरू अन्तिम समयमा जिल्ला अध्यक्ष, उपसचिवसहित जिल्ला कमिटीमा आफूहरूले भनेअनुसार नाम समावेश गर्न सहमत भएपछि सर्वसम्मत नेतृत्व चयन भएको अध्यक्षमण्डलका एक सदस्यले बताए ।

बन्द सत्रमा सहभागी प्रतिनिधिहरूले सर्वसम्मत नहुँदा लोकतान्त्रिक विधि अवलम्बन गरी निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न दबाब दिएको भए पनि अधिवेशन लम्ब्याएर पाँचौँ दिन पुर्याएर सर्वसम्मतको नाममा आफ्ना पक्षका जिल्ला अध्यक्ष बनाउन अधिकतम प्रयास गरेका स्थायी कमिटी सदस्य श्रेष्ठको कुनै जोड नचलेपछि नेतृत्व बाँडफाँट गरी सर्वसम्मत गरिएको उनले बताए । 

‘पटक–पटक मन्त्री, पार्टीको जिल्ला, प्रदेशको नेतृत्व गरेका श्रेष्ठले गृहजिल्लाको पार्टी नेतृत्वमा आफ्नोअनुकूल अध्यक्ष ल्याउन धेरै प्रयास गरे,’ उनले भने, ‘निर्वाचन प्रक्रियामा जाँदा बहुसंख्यक प्रतिनिधिहरू अशोकको पक्षमा खुलेरै लाग्ने ठम्याइपछि अर्कै खेमाको भए पनि अध्यक्ष र उपसचिव स्वीकार गरेर सर्वसम्मत गराउन बाध्य भएँ ।’ करिब अढाई दशकदेखि जिल्ला पार्टीमा वर्चश्व कायम गर्दै आएका श्रेष्ठले आफ्नो गृहजिल्लामा यसपटक सचिव, एक उपसचिवसहित केही सदस्यमा चित्त बुझाउन बाध्य भएको एक प्रतिनिधिले बताए ।  

पार्टी परित्यागको घोषणा

जिल्ला अधिवेशनमा नेतृत्व चयनप्रति असहमति जनाउँदै गोलबजार नगरपालिका– ६ का निर्वाचित वडाध्यक्ष सञ्जित भन्ने सञ्जीव लामाले पार्टी परित्यागको घोषणा गरेका छन् । गोलबजार नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका उनले सामाजिक सञ्जालमार्फत साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

स्रोतका अनुसार लामाकी बहिनी आशा योञ्जन जिल्ला उपसचिवको दाबेदार भए पनि उनलाई बाइपास गरी प्रदेश इन्चार्ज श्रेष्ठको दबाबमा खेमलक्ष्मी श्रेष्ठको नाम समावेश गरिएकोप्रति असहमित जनाउँदै पार्टी परित्याग गरेको जनाइएको छ । 

आफूलाई बदनियतपूर्वक जिल्ला कमिटीको उपसचिव पदमा आउन रोकेको भन्दै आशाले सामाजिक सञ्जालमा स्थायी कमिटी सदस्य श्रेष्ठमाथि आक्रोश पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘निर्णायक तहमा रहनलाई श्रेष्ठ परिवारमा रहनु वा जन्म लिनुपर्छ । अन्यथा संगठनमा दासी भएर बस्नुपर्छ ।’

सुझावित समाचार