विश्व च्याम्पियन फुटबलर कार्लोस ५ वैशाखमा आउने

शनिबार, ३० चैत, २०८१
डिजिटल संस्करण

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आगामी ५ वैशाखमा नेपाल आउने भएका छन् । दशरथ रंगशालामा चलिरहेको तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको विशेष पाहुनाका रूपमा कार्लोस नेपाल आउन लागेका हुन् । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले विश्वप्रसिद्ध ब्राजिलियन खेलाडी आउने मिती तय भएको जानकारी दिएको छ । 

यो एक महिनाको अवधिमा नेपालमा दोस्रो विश्वकप विजेता खेलाडीले भ्रमण गर्न लागेका हुन् । यसअघि तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा इटालीका फिफा विश्वकप विजेता कप्तान जियालुइगी बुफन आएका थिए । सन् २००६ को विश्वकपको इटाली च्याम्पियन हुँदा उनले कप्तानी गरेका थिए । सन् २००२ मा ब्राजिलले पाँचौँपटक विश्वकप उपाधि उचाल्दा कार्लोसले प्रमुख डिफेन्डरको भूमिका निर्वाह गरेका थिए । 

‘विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर कार्लोसले एनएसएल लिगमा विशेष पाहुनाको भूमिका निर्वाह गर्नेछन्,’ एनएसइएमले भनेको छ, ‘उनले ६ वैशाखमा दशरथ रंगशालमा पहिलो क्वालिफायर खेल हेर्ने कार्यक्रम रहेको छ । ‘फुटबल इतिहासका एक महान् खेलाडीलाई नेपालमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ,’ एनएसइएमका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले भने, ‘उहाँको आगमनले लिगको प्रतिष्ठा अझ बढाउनेछ, यो नेपाली फुटबल समुदायका लागि समेत प्रेरणादायी क्षण हुनेछ ।’ 

१४ वर्ष ब्राजिलियन टोलीमा 
ब्राजिलियन र विश्व फुटबल इतिहासमा कार्लोस उत्कृष्ट लेफ्ट ब्याकमध्ये पर्छन् । कार्लोसको विशेषता नै लामो दूरीबाट शक्तिशाली फ्रिकिक गोल गर्न सक्छन् । ब्राजिलको राष्ट्रिय टोलीमा उनले १४ वर्ष बिताए । सन् १९९२ देखि २००६ सम्म राष्ट्रिय टोलीमा रहँदा उनले एक सय २५ अन्तर्राष्ट्रिय खेल खेले । यसक्रममा उनले १० गोल गरेका थिए । क्लबस्तरीय करिअरमा कार्लोसले विश्वचर्चित रियल म्याड्रिडमा ११ सिजन बिताए । सन् १९९६ देखि २००७ सम्म उनले रियलबाट तीन सय ७२ खेल खेले । यसक्रममा उनको नाममा रियलबाट ४८ गोल रह्यो । कुनै समयमा उनीसँगै डेभिड बेकह्याम, लुइस फिगो, जिनेदिन जिदान, काका र सिनियर रोनाल्डोजस्ता खेलाडी थिए । 

See More On

सुझावित समाचार