रामेछापमा ५९२ प्रतिवादी फरार, ३५ करोड जरिवाना उठेन

सोमबार, २४ चैत, २०८१
डिजिटल संस्करण

रामेछाप जिल्ला अदालतले विभिन्न मितिमा गरेको अन्तिम फैसला भई कैद भुक्तान गर्नुपर्ने ५९२ जना प्रतिवादी फरार हुँदा ३५ करोड रुपैयाँ जरिवाना उठाउन सकेको छैन । 

अदालतले मुद्दा फैसला गरे पनि प्रतिवादी फरार हुँदा उक्त रकम उठाउन नसकेको हो । फरार रहेका प्रतिवादी पक्राउ गर्न अदालतले जिल्ला प्रहरी कार्यालय रामेछापमा पटक–पटक परिपत्र गर्दासमेत प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न सकेको छैन । जसका कारण अदालतले उठाउनुपर्ने ३५ करोड जरिवाना रकम उठाउन नसकेको हो । 

त्यसैगरी रामेछाप जिल्ला अदालतमा गएको आर्थिक वर्षमा दर्ता भई जिम्मेवारी सरेर आएका १३१ वटा मुद्दाहरूको फैसला हुन बाँकी रहेको छ । त्यस्तै, यस चालू आर्थिक वर्षमा २४८ वटा मुद्दा दर्ता भएकाहरू गरी जम्मा ३७९ वटा मुद्दा रहेकोमा यस चालू आर्थिक वर्षको नाै महिनामा २२५ वटा मुद्दा फर्स्याेट भइसकेका छन् ।

अदालतले यस आर्थिक वर्षमा २२५ वटा मुद्दा फर्स्याेट गर्ने लक्ष्य लिएकोमा सोहीअनुसार शतप्रतिशत काम भएको रामेछाप जिल्ला अदालतका श्रेस्तेदार मधुसुदन आचार्यले जानकारी दिए । 

फर्स्याेट हुन बाँकी मुद्दाहरूमध्ये २०८२ असारसम्म दुई वर्ष कट्ने ६ थान र एक वर्ष कट्ने १८ वटा मुद्दा रहेको पनि उनले बताए । अदालतमा दर्ता भएका बाँकी मुद्दाहरूको पनि चाँडै फर्स्याेट गर्ने गरी काम भइरहेको पनि रामेछाप अदालतले जनाएको छ । 

See More On

सुझावित समाचार