तुर्माखाँद बजारछेउमा ९–१० वटा खर र बाँसले छाएका झुपडी । त्यही बस्तीमा थियो सुन्दरीको चिया पसल र वैद्यनाथ आधारभूत विद्यालय । जुन बस्तीमा एक्कासि दनदनी आगो लाग्यो । आगलागीपछि स्थानीयहरू चिच्याउन, कराउन थाले भने गर्भवती, अपांगता भएकाहरू र बालबालिकाको भागदौड मच्चियो । बस्तीमा फैलिएको आगो झन् धेरै दन्किन थाल्यो । यत्तिकैमा गोरख बक्स गण मंगलसेन ब्यारेकबाट नेपाली सेनाको टोली आयो र केहीबेरमै आगो निभाएर घाइतेलाई उद्धार गरी अस्पताल पठायो ।
यो सत्य घटना भने होइन, विपतका वेला गरिने उद्धार, राहत र उपचारको नमुना अभ्यास हो। कालिकेश्वरी माविको प्रांगणमा गरिएको कृत्रिम अभ्यासका क्रममा आगलागीसँगै भूकम्प, बाढीपहिरो र खोलामा फसेकाहरूलाई डोरीको माध्यमबाट उद्धार गरियो। पीडित र घाइतेहरूको विवरण संकलनपछि तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसी, प्रहरी निरीक्षक हर्षबहादुर चन्दसहितको टोली राहत लिएर आइपुग्यो।
विपतबाट जोगिने उपाय सिकाउन अछाममा अभियानकै रूपमा प्रशिक्षण र कृत्रिम घटना अभ्यास गराइरहेको गोरख बक्स गणले तुर्माखाँद गाउँपालिकामा पनि ‘डेमो’ प्रदर्शन गरेर स्थानीयलाई सतर्क गराउन यो अभ्यास गरेको हो । केही समयअघि तुर्माखाँद– ५ को नाडाकाँडाचौरमा पहिरोमा पुरिएर दुई परिवारका नौजनाको मृत्यु भएको थियो । यस्ता घटनाबाट जोगिन सेनाको यो प्रशिक्षण र कृत्रिम घटना अभ्यासले सबैलाई सचेत बनाएको भन्दै तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले हावाहुरी, आगलागी, बाढिपहिरो र भूकम्पका वेला सुरक्षित रहन मद्दत पुग्ने बताए ।