तातोपानी भन्सारको नियन्त्रणमा दुई लाख थान भेप

बिहिबार, २० चैत, २०८१
डिजिटल संस्करण
तातोपानी भन्सारको नियन्त्रणमा दुई लाख थान भेप

तातोपानी भन्सारले नियन्त्रणमा लिएको १२ सय ५० कार्टुन विद्युतीय चुरोट

चीन स्वशासित तिब्बतको सीमाक्षेत्र खासा हुँदै नेपाली सुक्खा बन्दरगाह ल्याइएका १२ सय ५० कार्टुन विद्युतीय चुरोट (भेप) तातोपानी भन्सारले नियन्त्रणमा लिएको छ । मंगलबार नौ सय ९० र गत साता आएको दुई सय ६० कार्टुन भेप भन्सारमा राखिएको छ । एक कार्टुनमा सरदर दुई सय थान भेप हुन्छ । सबै कार्टुनमा रहेको करिब दुई लाख थान भेप तातोपानी भन्सारले नियन्त्रणमा राखेको छ ।

  • तातोपानी भन्सार अधिकृत सूर्यप्रसाद काफ्ले भन्छन्–
  • पूर्णप्रतिबन्ध नलगाएको वस्तु भएकाले भन्सारलाई अप्ठ्यारो परेको छ । न समातेर नष्ट गर्न सकिन्छ न त पैठारी नगर भन्न मिल्छ  । कानुनी अड्चनले हामीलाई अप्ठ्यारोमा पारेको छ । 

मंगलबार नियन्त्रणमा लिइएको भेप सिल्क ट्रान्सपोर्ट कम्पनीको चिनियाँ टेलरमा ल्याइएका हुन् । यसअघि नियन्त्रणमा लिएको भेप भने खासा तातोपानी चल्ने अन्य ट्रान्सपोर्टबाट आयात भएका थिए । सरकारले पूर्णप्रतिबन्ध नलगाएको विद्युतीय चुरोटलाई राजस्व असुली गरेर नियमसंगत पैठारी गर्ने हेतुले भन्सारले नियन्त्रणमा राखेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले बताए । विद्युतीय चुरोटको राजस्व संकलन गर्नेबारे सम्बन्धित निकायमा छलफल जारी रहेको उनको भनाइ छ । ‘भेप नियन्त्रणमा लिएपछि मैले भन्सार विभागसँग कुराकानी गरिरहेको छु,’ उनले भने, ‘विभागले कुनै निर्देशन दिएको छैन ।’ विभागले अर्थ मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको पनि उनले जानकारी दिए । प्रस्ट कानुन नभएकाले सामान होल्डमा राखेको उनले प्रस्ट्याए ।

विगतमा राजस्व असुली गरेरै भेप पैठारी हुने गथ्र्याे । भेपभित्र जब सुन तस्करी भएको फेला पर्‍यो त्यसपछि यसलाई शंकाको घेरामा राखियो । स्वास्थ्य मन्त्रालयले पनि मानव स्वास्थ्यमा हानि गर्ने वस्तु भएकाले भेप पैठारी गर्नु गलत हुने आशयको परिपत्र अर्थ मन्त्रालय हुँदै भन्सार विभागलाई पठाएको छ । स्पष्ट कानुनको अभावले पूर्ण प्रतिबन्ध नभने पनि राजस्व असुली गरेर भेप पैठारी गर्न नसकेको तातोपानी भन्सारका अधिकृत सूर्यप्रसाद काफ्ले बताउँछन् । विद्युतीय चुरोट तस्करी भयो भनेर धेरै आवाज उठेकाले त्यसतर्फ सचेत रहँदै तातोपानी नाकाबाट यस्तो गतिविधि हुँदैन भन्ने प्रमाणित गर्न ठुलो मात्रामा भेप नियन्त्रणमा लिएर राखेको उनको जिकिर छ । गत साता बाह्रबिसेमा जनपथ र लामोसाँघुमा सशस्त्रले भेप बरामद गरेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । ‘भन्सारले नियन्त्रणमा लिएका भेपबारे व्यापारी र ट्रान्सपोर्ट कम्पनीले पहिल्यै जानकारी दिएका हुन्,’ काफ्लेले भने, ‘यसलाई समातेर नष्ट गर्ने कानुन पनि छैन । पूर्ण प्रतिबन्ध नलगाएको वस्तु भएकाले भन्सारलाई अप्ठ्यारो परेको छ । न समातेर नष्ट गर्न सकिन्छ न त पैठारी नगर भन्न मिल्छ  । कानुनी अड्चनले हामीलाई अप्ठ्यारोमा पारेको छ ।’

चिनियाँ सहरमा उत्पादित दर्जनौँ ब्रान्डका भेप पाँच हजारदेखि ३० हजार सर्काे तान्न सकिने विभिन्न फ्लेभरका छन् । अहिले खासाबाट तातोपानी भन्सारका लागि सामान बोकेर आउने सबैजसो ट्रान्सपोर्ट कम्पनीका कन्टेनरमा भेप आइरहेका छन् । नेपाल हुँदै भारतीय बजारमा उच्च माग भएकाले चीन सरकारले स्वास्थ्य मापदण्डअनुसार प्रमाणपत्र दिई व्यापारीबाट राजस्व संकलन गरेर वैधानिक रूपमा भेप निकासी गरिरहेको छ । नेपाली ब्यापारीले पनि चिनियाँ बजारमा पुगेर ठुलो परिमाणको भेप खरिद गरिरहेका छन् । चिनियाँ बजारमा भेपको मूल्य पाँचदेखि १० डलरसम्म पर्छ । राजस्व संकलन गरेर भेप पैठारी गर्नेसम्बन्धी सरकार र व्यापारी पक्षबिच छलफल भइरहेको उनले जानकारी दिए । भेप पनि सूर्ती र मदिराजन्य वस्तुउपर नेपाल सरकारले लागू गरेको कानुनभित्रै पर्छ । 

See More On

सुझावित समाचार