तेब्बर आम्दानी बढेपछि किसानको आकर्षण बन्यो अलैँची खेती

बुधबार, २० चैत, २०८१
डिजिटल संस्करण

धान, मकैजस्ता परम्परागत खेती प्रणालीभन्दा अलैँचीबाट तेब्बर आम्दानी हुने भएपछि सल्यानका किसान व्यावसायिक अलैँची खेतीमा आकर्षित भएका छन् । कम लगानी र परिश्रमबाट राम्रो आम्दानी हुने भएपछि किसान अलैँची खेतीमा लागेका हुन् । चार रोपनी क्षेत्रफलमा अलँैची खेती गर्दै आइरहेका सिद्धकुमाख गाउँपालिका– ३ का किसान थलबहादुर बुढाथोकी भन्छन्, ‘पहिले खेतमा १६ मुरीजति धान फल्थ्यो । धान रोप्ने समयमा पानी परेन भने त्यो पनि हुन्थेन । केही वर्ष बाँझो नै भयो । पछि अलैँची खेती गरेँ । अहिले राम्रो आम्दानी भइरहेको छ ।’

आठ वर्षदेखि व्यावसायिक अलैँची खेती गर्दै आएका बुढाथोकीले पाँच वर्षदेखि आम्दानी लिँदै आइरहेका छन् । वार्षिक चार लाखसम्म आम्दानी हुने गरेको उनी सुनाउँछन् । त्यस्तै, अर्का किसान भद्रबहादुर बुढाथोकीले पनि कम लगानी र परिश्रमबाट परम्परागत खेती प्रणालीभन्दा अलैँची खेतीबाट मनग्य आम्दानी हुने गरेको बताए । नौ मुरी धान फल्ने खेतमा अहिले वार्षिक तीन लाखसम्मको अलैँचीले उत्पादन दिइरहेको उनले बताए । ‘अन्नबालीभन्दा त कति हो कति गुणा फाइदा भइरहेको छ । अलैँची लगाएको आठ वर्ष भयो, पाँच वर्षदेखि उत्पादन दिन थालेको छ । यसबाट सन्तुष्ट छु ।’ उत्पादित अलैँची व्यापारीले घरबाट नै दुई हजार पाँच सय प्रतिकिलोका दरले किन्ने गरेको बुढाथोकीको भनाइ छ । 

जिल्लामा अहिले १५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । एकीकृत रूपमा नभए पनि किसानले पछिल्लो समय अलैँची खेती बढाउँदै लगेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए । वार्षिक नौ मेट्रिकटन अलैँची सल्यानमा उत्पादन हुने र त्यसमध्ये पाँच मेट्रिकटन जिल्लाबाहिर निकासी हुँदा किसानले डेढ करोडभन्दा बढी रकम हात पारेको उनको भनाइ छ ।

See More On

सुझावित समाचार