बजेटको सहमति कार्यान्वयन नभए संसद् सञ्चालन हुन नसक्ने माओवादीको निर्णय

मंगलबार, १८ चैत, २०८१
डिजिटल संस्करण

माओवादी केन्द्रले प्रदेश सरकारले प्रतिपक्षी दलहरूसँग गरेको विगतको सहमति कार्यान्वयन नगरेसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ । मंगलबार बसेको माओवदी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विगतको सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभा चल्न नदिने जनाएको हो ।

संसदीय दलको बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारले सांसदहरूलाई झुक्काउने र ढाँट्ने काम गरेको भन्दै विगतको सहमति नभएसम्म प्रदेश सभा बैठक चल्न नदिने निर्णय भएको जानकारी दिए ।

उनले विगतमा सरकारले बजेटमाथिको सहमति गर्दै सांसदहरूको छुटेका योजना समेट्ने सहमति गरे पनि ढाँटेको बताए । ‘सरकार ढाँटिरहने र हामी विश्वास गरिरहनुपर्ने हो भने यसपटकचाहिँ संसद् चल्न नदिने निष्कर्षमा हामी पुगेका हौँ,’ उनले भने । सहमतिअनुसार सांसदहरूले संसदीय दलमार्फत योजना उपलब्ध गराए पनि हालसम्म कार्यान्वयन हुन नसकेको उनको दाबी छ ।

सरकार ढाँट र छलबाट अघि बढेको उनले आरोप लगाए । सरकारले आफ्नो गल्ती सच्याएर सांसदहरूले पेस गरेका योजनामा बजेट नदिएसम्म संसद्को कामकारबाही अघि बढ्न नसक्ने उनले बताए । प्रमुख सचेतक ढकालले संसदीय दलको बैठकले प्रदेशका गरिबी निवारण तथा सहकारीमन्त्री मधुकुमार श्रेष्ठका स्वकीय सचिवको आत्महत्याको विषयमा संसदीय छानबिन गठन गरेर अघि बढ्नुपर्ने माग पनि राखेको जानकारी दिए ।

यता दिउँसो १ बजेबाट बस्ने भनिएको प्रदेश सभा बैठक अहिलेसम्म बस्न सकेको छैन । आज बिहान ९ बजेदेखि करिब चार घण्टा बसेको सर्वदलीय बैठकमा दलहरूबिच सहमति जुट्न नसकेपछि प्रदेश सभा बैठक बस्न सकेको छैन ।

सुझावित समाचार