धादिङको गजुरी गाउँपालिका– ५ गलौदीमा रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव सुरु भएको छ । त्रिशूली किनार र पृथ्वी राजमार्गको बिचमा रहेको गलौदीमा रैथाने खाना, कृषि तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबारबाट महोत्सव सुरु भएको हो ।
बागमती प्रदेश सरकारका पूर्वमूख्यमन्त्री शालिकराज जम्कट्टेलले कृषिमा आत्मनिर्भर तथा पर्यटनलाई जोड दिनुपर्ने बताएका छन् । रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सवको उद्घाटन समारोहको सम्बोधन गर्दै उनले जीविकोपार्जनभन्दा कृषिलाई व्यावसायिक रूपमा लगेर पर्यटनलाई सँगसँगै जोड्न सके धादिङको विकासमा ठुलो सहयोग पुग्ने उल्लेख गरे ।
कृषिमन्त्री पाएको धादिङले धादिङमै आयोजना भएको कृृषि महोत्सवमा न कृषिजन्य उत्पादन पायो न उद्घाटन समारोहमा कृषिमन्त्री । गिठ्ठा भ्याकुर, झार्लाङको आलु, लापा र तिप्लिङको कोदाको ढिँडो, सल्यानटारको मास, थाक्रेको उखुलगायतका उत्पादन प्रसिद्ध रहेका छन् । तर, महोत्सवको नाममा दर्शकलाई ठग्ने गरेको महोत्सव अवलोकन गर्दै गरेकी संगीता डल्लाकोटी बताउँछिन् । ‘महोत्सवमा कृषिजन्य उत्पादन एउटा स्टलमा एउटा बन्दा, एउटा मकै र एउटा खुर्सानीको बोट मात्रै छ । होटेलहरूमा विभिन्न परिकार रहे पनि रैथाने परिकारको स्वाद चखाउने एउटै परिकार छैन,’ उनले गुनासो पोखिन् ।
जिल्ला होटेल संघ धादिङले आयोजना गरेको महोत्सवको गजुरी गाउँपालिका संरक्षक रहेको छ । परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार कृषि, घरेलु, हस्तकला तथा पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
आयोजकले महोत्सवलाई व्यापार मात्रै बनाउँदा रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव नाममा मात्रै सीमित बनेको हो ।
रैथाने खाना, कृषि पर्यटन नाम जोडेर आयोजना गरिएको महोत्सवको मुख्य प्रायोजक हिमालयन बियर रहेको छ । महोत्सवमा कृषिजन्य उत्पादन तथा रैथाने खानेकुरा नहुँदा उद्घाटनकै दिन पनि महोत्सवमा रहेका ८० प्रतिशतभन्दा बढी स्टलहरू खाली रहेका छन्। महोत्सव उद्घाटन समारोहमा शुभकामना दिने प्रायः सबैले रैथाने खानेकुरा, स्थानीय कृषिजन्य उत्पादन, पर्यटन क्षेत्रलाई सहयोग पुग्ने खालका स्टलहरू राख्न सुझाव दिएका छन् । चैत १४ गतेदेखि सुरु भएको महोत्सव २४ गतेसम्म चल्नेछ ।