पानी उत्पादन गरिरहेको वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडबाट संस्थागत परामर्श लिने भएको छ । यसका लागि दुई कम्पनीबिच सम्झौता भएको छ ।
वृज हिमालयले प्रिमियम पिउने पानी उद्योगमा एक स्थापित ब्रान्ड बनाई व्यवसायको वृद्धि, विस्तार तथा विकासको दीर्घकालीन लक्ष्यसहित एनएमबि क्यापिटललाई परामर्शदाता बनाएको जनाएको छ । कम्पनीका अनुसार एनएमबिले पुँजी पुनः संरचना, वित्तीय व्यवस्थापन, विभिन्न रणनीतिक साझेदार भिœयाउने कार्यलगायतमा चाहिने परामर्श सेवा दिनेछ ।
केडिया अर्गनाइजेसनअन्तर्गतको वृज हिमालयले ‘पूर्ण’ ब्रान्डमा एक लिटर, ५०० मिलिलिटर र २५० मिलिलिटरको बोतलमा मिनरल पानी तथा २० लिटरको जारमा प्रशोधित पानी उत्पादन गरिरहेको छ ।
‘एनएमबि क्यापिटल लिमिटेडलाई हाम्रो वित्तीय परामर्श साझेदारका रूपमा पाएर हामी अत्यन्तै खुसी छौँ, यो सहकार्य हाम्रा सरोकारवालालाई उच्च प्रतिफल प्रदान गर्न हामी प्रतिबद्ध भएको प्रमाणसमेत हो,’ वृज हिमालयनका प्रबन्ध निर्देशक सत्यम् केडियाले भने ।
एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले यस सहकार्यप्रति उत्साह व्यक्त गरे । ‘वृज हिमालयनसँगको सहकार्यले उत्पादन क्षेत्रमा नयाँ उद्यमलाई सहयोग गर्ने एनएमबि क्यापिटलको लक्ष्यअनुसार नै कार्य गर्न अवसर पाएकोमा उत्साहित छौँ । हामी वृज हिमालयको वृद्धि र विकासको योजनालाई सफल पार्न सहयोग गर्नेछौँ ।’
मनोज केडियाको नेतृत्वमा रहेको केडिया अर्गनाइजेसनले विभिन्न उद्योग–व्यवसायमा लगानी गरिरहेको छ ।