जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा भएको ‘विश्व युवा महोत्सव २०८१’ बिहीबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भनिएको महोत्सवको मुख्य आयोजक जिल्ला समन्वय समितिका प्रमुख तथा संयोजक दीपक गौतमले नै उद्घाटन गरेका हुन् । उद्घाटन समारोहको पूर्वसन्ध्यामा तथा बुधबार बैंकिङ कसुरमा गौतम पक्राउ परेपछि कार्यक्रम अन्योल भएपछि प्रधानमन्त्री नआएका हुन् । बिहीबार प्रहरी हिरासतबाट छुटेर आई १ बजे उद्घाटन गर्ने भनिएको कार्यक्रम ५ बजे आफैँले उद्घाटन गरेका हुन् ।
सो उद्घाटन कार्यक्रम बिहीबार दिउँसो १ बजे धुलिखेलस्थित काठमाडाैं विश्वविद्यालयको बहुउद्देश्यीय हलमा गर्ने तयारी थियो । तर, सहभागी कम हुने देखिएपछि काठमाडौं विश्वविद्यालयको अडिटोरियम हलमा गरिएको थियो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथ हुन लागेको कार्यक्रममा कोही कलाकार उपस्थित भएनन् ।
कार्यक्रममा पानसमा बत्ती बालेर समन्वय प्रमुख गौतमले नै महोत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्लाका कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरू पनि उपस्थित भएका थिएनन् । आयोजक संस्था जिल्ला समन्वय समितिकी समन्वय अधिकारी अम्बिका राई पनि केही दिन अगाडिदेखि नै बिदामा थिइन् ।
कार्यक्रमले नेपालमा मात्र नभएर विश्वकै बौद्धिक विमर्शमा योगदान पुर्याउने आयोजक संस्थाका संयोजक दीपककुमार गौतमले बताए। भविष्यलाई मार्गदर्शन गर्ने कोसेढुंगा साबित कार्यक्रमले गर्ने उनको भनाइ छ । उक्त महोत्सवमा ५१ देशका १५० जनाभन्दा बढी युवा सहभागी रहेको गौतमले जानकारी दिए ।