दुई हजार मेगावाटका विद्युत् परियोजनामा लगानी गर्ने अडानी ग्रुपको घोषणा

सन् ०२५ मा दुई हजार मेगावाट र भविष्यमा थप तीन हजार मेगावाटका परियोजनामा लगानी गर्ने प्रतिबद्धता

शुक्रबार, १५ चैत, २०८१
डिजिटल संस्करण

विश्व अर्बपतिमा सूचीकृत भारतीय धनाढ्य गौतम अडानीको व्यावसायिक घराना अडानी ग्रुपले सन् ०२५ मा नेपालमा दुई हजार मेगावाटको जलविद्युत् परियोजना विकास गर्न सुरु गर्ने घोषणा गरेको छ ।  

भारतस्थित नेपाली राजदूतावास र इन्डियन फिड्रेसन अफ ग्रिन इनर्जीले संंयुक्त रूपमा नयाँदिल्लीमा आयोजना गरेको नेपाल–भारत इनर्जी समिटमा अडानी ग्रुपले यस्तो प्रतिबद्धता जनाएको हो । अडानी ग्रुपका उपाध्यक्ष जयरमन पुनिधानले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न राम्रा आयोजनाको खोजी गरिरहेको जानकारी दिए । यसै वर्ष नेपालमा दुई हजार मेगावाटका आयोजना विकास गर्ने तथा भविष्यमा नेपालमै पाँच हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाइ छ । 

नेपालका सरकार वा निजी क्षेत्र जोसुकैसँग पनि पार्टनरसिप गरेर अडानी ग्रुप लगानी गर्न तयार रहेको उनको भनाइ छ । नेपालबाट विद्युत् निर्यात नै गर्ने गरी आयोजना बनाउने र त्यसका लागि सरकारी स्वामित्वका आयोजना पनि हेरिरहेको समेत उनले बताए । अडानी ग्रुपले नेपालका ठुला जलविद्युत् परियोजनामा लगानी गर्ने लक्ष्य लिएको उनको भनाइ छ । 

नेपालमा पम्प स्टोरेज आयोजना बनाउन पनि अडानी समूह सकारात्मक रहेको उनले बताए । नेपालमा ६ देखि आठ वर्षमा एउटा राम्रो पम्प स्टोरेज आयोजना विकास गर्न सकिने उनको भनाइ थियो । विश्वभर २७ हजार तीन सय मेगावाट विद्युत् उत्पादनका लागि अडानी ग्रुपले लक्ष्य लिएको बताउँदै उनले छिमेकी र क्षेत्रीय ऊर्जा बजार प्राथमिकतामा रहेको बताए । 

यस्तै, भारतका अन्य ठुला कम्पनी नेपालको जलविद्युत्मा लगानी गर्न तयार रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जानकारी दिएको छ । इप्पान कार्यक्रममा संस्थागतमा सहभागी छ । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतीय ठुला व्यापारिक घरानाले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठुला समस्या समाधानमा सरकारको साथ खोजेको इप्पानको भनाइ छ । 

भारतका ठुला व्यावसायिक घरानाले नेपालमा नीतिगत सुरक्षामार्फत भारतीय लगानीको सुरक्षा हुनुपर्ने, प्रतिफलको ग्यारेन्टी हुनुपर्ने र सहज रूपमा लगानी फिर्ता लिन पाउनुपर्नेलगायत विषययमा ग्यारेन्टी खोजेका छन् । जलविद्युत् आयोजनाले सामना गर्नुपरेका तीन–चारवटा समस्या समाधानका लागि सरकारले सहजीकरण गरिदिएमा आफूहरू नेपालमा लगानी गर्न उत्साहित रहेको उनीहरूको भनाइ छ । 

नेपालमा नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभिएन)का आयोजना निर्देशक सुशील शर्माले नेपालमा काम गर्नका लागि वन, जग्गा प्राप्ति, भन्सार र सडकको समस्या रहेको बताए । यद्यपि, समस्या समाधानका लागि सरकारले सहजीकरण पनि गरिरहेको उनको भनाइ छ । सरकारी सहयोग रहेकाले तीन वर्षमा परियोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको उनले बताए । उक्त परियोजा २५ वर्षपछि सरकारलाई नै हस्तान्तरण हुने भएकाले यसले नेपालको अर्थतन्त्रमा ठुलो फरक पार्ने उनको दाबी थियो । यो आयोजनाले भारतीय लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने पनि उनले बताए ।

यस्तै, भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव आकाश त्रिपाठीले नेपाल र भारतबिच एक हजार मेगावाट विद्युत् आदान–प्रदानका लागि संरचना तयार भइसकेको बताए । 

यस्तै, आठ हजार मेगावाट विद्युत् आदान–प्रदान गर्न सक्ने क्षमताका चारवटा प्रसारणलाइन निर्माणमा गइसकेकाले नेपालमा उत्पादित विद्युत् भारत निर्यातका लागि कुनै समस्या नहुने बताए । उनले नेपालबाट भारतमा मात्रै नभएर बंगलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेकाले नेपालमा उत्पादित विद्युत् खपत नहुँदा भारत वा बंगलादेशमा जहाँ पनि बिक्री गर्न सक्ने वातावरण बनिसकेको बताए ।

तर, नेपालमा निजी क्षेत्रले बनाउने आयोजनाले सरकारलाई दिनुपर्ने फ्री इनर्जीको विषयमा पुनर्विचार गर्नुपर्ने र वन, जग्गा प्राप्ति, भन्सारलगायतका विषयमा सरकारले ध्यान दिनुपर्ने पनि बताए ।

आइएफजिईका वरिष्ठ कार्यसमिति सदस्य तथा उत्तर भारत हाइड्रोपवार कम्पनीका सिइओ नरेश गोयलले नेपाल सरकारले प्रशासनिक अवरोध हटाएर लगानीको वातावरण बनाइदिने हो भने भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताए ।

सरकारले अघि सारेको २८ हजार पाँच सय मेगावाट उत्पादनको लक्ष्यलाई वास्तविकतामा बदल्ने हो भने नेपाल सरकारले केही बोल्ड डिसिजन गरेर भारतीय लगानीकर्तालाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाल सरकारले अघि सारेको सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राप्तिका लागि दूतावासले यो समिट आयोजना गरेको बताए । उनले भारतीय लगानीकर्ताले नेपालमा आयोजनाको स्वामित्व किनेर वा जोइन्ट भेन्चरमा पनि काम गर्न 
सक्ने बताए ।

भारतले राति ११–४ बजेसम्म पनि ६ सय मेगावाट विद्युत् दिने
भारतले रातिको समयमा पाँच घण्टा ६ सय मेगावाट विद्युत् दिने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् दिने स्वीकृति नेपाल विद्युत् प्राधिकरणलाई पठाएको हो । योसँगै अब प्राधिकरणले उक्त समयमा भारतको इनर्जी एक्सजेन्च मार्केटबाट सोबराबरको विद्युत् खरिद गर्न सक्नेछ ।

पूर्वस्वीकृतिअनुसार भारतले ३ चैतदेखि इनर्जी एक्सचेन्ज मार्केटबाट रातिको समयमा विद्युत् खरिद गर्न दिएको थिएन । दिउँसो सोलार आवर (सूर्याेदयदेखि सूर्यास्तसम्म) मात्रै विद्युत् खरिद गर्न दिएको थियो । त्यसले गर्दा रातिको समयमा उद्योगमा विद्युत् कटौतीसमेत भएको अवस्था थियो । नयाँ स्वीकृतिअनुसार अब राति ५–११ बजेसम्म र बिहान ४–६ बजेबाहेकको समयमा भारतबाट विद्युत् आयात गर्न पाइन्छ ।

नेपालमा अधिकांश नदी प्रवाहमा आधारित परियोजना छन् । त्यो अवस्थामा बर्खामा खोलामा पानी बढी हुँदा पूर्ण क्षमता विद्युत् उत्पादन गर्न सकिन्छ, जुन वेला भारतमा विद्युत् निर्यात गर्न पनि सकिन्छ । तर, हिउँदमा खोलामा पानी कम भएपछि यहाँको विद्युत् उत्पादन पनि कम हुन्छ । त्यसवेला आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्छ । तर, पछिल्लोपटक भारतले रातिको समय विद्युत् दिएको थिएन ।

सुझावित समाचार