समाजवादी मोर्चाको जनप्रदर्शन प्रदर्शनीमार्गमा : प्रचण्ड, माधव, विप्लवलगायतले सम्बोधन गर्ने

एक लाखभन्दा धेरै जनता उतार्ने मोर्चाको दाबी

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल माओवादीसहित एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले शुक्रबार राजधानीमा बृहत् जनप्रदर्शन गर्दै छ । सरकारको कुशासन र व्यवस्थाको रक्षाका निम्ति भन्दै मोर्चाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा जनप्रदर्शन गर्न लागेको हो । 

राजसंस्था पुनस्र्थापनाको माग लिएर राजावादीको सक्रियता बढेपछि मोर्चाले पनि व्यवस्थाको रक्षा र सरकारको कुशासनविरुद्ध भन्दै सडकमा आन्दोलन रोजेको छ । सरकारको कुशासनका कारण पनि राजावादीलाई बल मिलेको मोर्चाको ठहर छ । मोर्चाका नेताहरूले जनप्रदर्शनमा एक लाखभन्दा बढी सहभागी हुने दाबी गरेका छन् । प्रदर्शनीमार्ग प्रवेश गर्ने मुख्य सडकमा हुने सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्नेछन् । 

एसइई परीक्षालाई लक्षित गर्दै पूर्वनिर्धारित समय केही धकेलेर मोर्चाले १२ बजेपछि जनप्रदर्शन सुरु गर्ने जनाएको छ । जनप्रदर्शनलाई व्यवस्थित बनाउन भन्दै मोर्चाले मुख्य तीन रुट निर्धारण गरेको छ । उपत्यकाका विभिन्न ठाउँबाट जनप्रदर्शनसहित प्रदर्शनीमार्ग प्रवेश गर्ने मुख्य सडकमा ‘टी’ आकारमा सभा हुँदै छ । रत्नपार्क, भद्रकाली र भृकुटीमण्डपतर्फको सडकमा सहभागी बस्नेछन् । कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली हुँदै भृकुटीमण्डप पुग्ने र्‍याली भद्रकालीतर्फ मुख्य सडकमा रहनेछ । त्यस्तै, अर्को रुट कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिवाटिका हुँदै भृकुटीमण्डप पुग्नेछ र रत्नपार्कतर्फ मुख्य सडकमा रहनेछ । तेस्रो रुट सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछ र प्रदर्शनीमार्गको सडकमा रहनेछ । 

प्रदर्शनअघि पार्टीगत रूपमा जम्मा हुने स्थान पनि तोकिएको छ । माओवादीका कोटेश्वर हुँदै पूर्वबाट आउनेहरू बबरमहलमा, ललितपुर हुँदै दक्षिणबाट आउनेहरू कुपन्डोल, कलंकी हुँदै पश्चिमबाट आउनेहरू त्रिपुरेश्वर र बालाजु हुँदै उत्तर–पश्चिमबाट आउनेहरू सोह्रखुट्टेमा जम्मा भएर प्रदर्शनमा सहभागी हुनेछन् । एकीकृत समाजवादीका मैतीदेवी, डिल्लीबजार चोक र शान्तिवाटिकामा जम्मा भएर प्रदर्शनमा सहभागी हुनेछन् । नेकपाका सुन्धारा र नेसपाका न्युरोड गेटमा जम्मा भएर प्रदर्शनमा सहभागी हुने तय गरिएको छ । जनप्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । 

मोर्चाले ‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौँ, गणतन्त्रको संवर्द्धन र राष्ट्रियताको संरक्षण गरौँ’ भन्ने मूल नारा तय गरेको छ । राष्ट्रिय परिस्थिति, सरकारको नालायकीपन, इतिहासमा थन्किसकेको प्रतिगामीबारे जनतालाई सुसूचित गर्न जनप्रदर्शन र जनसभा आयोजना गरिएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध, जनजीविका, राष्ट्रियता र व्यवस्थाको रक्षाका निम्ति शक्तिको स्रोत जनतामै जानुपर्छ भनेर जनप्रदर्शन गर्न लागिएको उनको भनाइ छ । 

‘संविधानको मर्म र भावनाविपरीत बनेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गर्‍यो । सेवा प्रवाह चुस्तदुरुस्त हुन सकेन, जनताप्रतिको उत्तरदायित्व पनि सरकारले निभाउन सकेन । सबैतिर सरकार असफल भइरहेको छ । यो परिस्थितिमा सरकारको कुशासन, नालायकीका कारणले अराजकता फैलाउने एउटा दुष्प्रयत्न भइरहेको छ,’ सापकोटाले भने, ‘तर, नेपाली जनता अब पछाडि फर्किने कल्पना पनि गर्न सक्दैनन् । इतिहासमा थन्क्याइसकेको राजतन्त्र फर्किने कुरा नेपाली जनता सोच्न पनि सक्दैनन् ।’ 

सरकारले बिचौलिया र दलालहरूको इसारामा देश र जनताको हितविपरीत काम गरिरहेकाले यही मौकामा पानीलाई धमिलो पारेर माछा मार्न सकिन्छ कि भनेर राजावादी र अन्य शक्तिले दुष्प्रयत्न गरेको सापकोटाको आरोप छ । ‘जनता लोकतान्त्रिक मूल्य–मान्यता, आदर्शमा स्पष्ट छन् । हामीले रगत बगाएर बनाएको संविधानमा स्पष्टसँग सार्वभौमसत्तासम्पन्न नेपाली जनता हुन् । त्यो मान्यतामा नेपाली जनता प्रस्ट छन् । जनताले लडेर ल्याएको यो व्यवस्था उल्ट्याउने खालको दुस्साहस भइरहेको वेलामा जनतामै जानुपर्छ भनेर बृहत् जनप्रदर्शनसहित जनसभा गर्दै छौँ,’ उनले भने । 

जनप्रदर्शन शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न हुने मोर्चाले दाबी गरेको छ । ‘कार्यक्रमस्थलमा जनतालाई चारैतिरबाट शान्तिपूर्ण रूपमा लिएर जान्छौँ,’ समाजवादी मोर्चाका सचिवालय सदस्यसचिव खड्गबहादुर विश्वकर्माले भने, ‘कम्युनिस्ट क्रान्तिकारीहरू, वामपन्थीहरू राष्ट्रको स्वाधीनता र जनताको मुक्ति चाहनेहरू प्रतिगमनविरुद्ध, राष्ट्रिय स्वाधीनताको पक्षमा, जनजीविका र अधिकारका निम्ति जनप्रदर्शनमा सहभागी हुनुहुन्छ ।’ मोर्चाले देशलाई मध्ययुगतिर फर्काउन षड्यन्त्र भइरहेको भन्दै सचेत बन्नुपर्ने आवश्यकता औँल्याएको छ । 

नेपाल प्रहरी र सशस्त्रको ४५ सय जनशक्ति परिचालन : सिसिक्यामेरा र ड्रोनबाट सभाहरूको निगरानी गरिँदै
सुरक्षालाई मध्यनजर गरेर दुई पक्षलाई जम्काभेट हुन नदिने प्रहरीको योजना छ । काठमाडौं परिसरका एसपी अपिलराज बोहराका अनुसार झन्डा र नाराका आधारमा दुवै पक्षका प्रदर्शनकारीको पहिचान गर्दै फरक–फरक सडक प्रयोग गराइनेछ ।

सुझावित समाचार