मुख्यमन्त्री लामाद्वारा एएफयू र फरेस्ट्री क्याम्पसको निरीक्षण

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौँडास्थित फरेस्ट्रीका एक विश्वविद्यालय र एक क्याम्पसको निरीक्षण गरेका छन् । मुख्यमन्त्री लामाले बिहीबार हेटौँडा– १० स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय (एएफयू) र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पस (फरेस्ट्री)को निरीक्षण गरेका हुन् । मुख्यमन्त्री लामाले उक्त क्याम्पसको भौतिक संरचना, शिक्षाको गुणस्तर, ल्याब तथा संग्रहालय र विद्यार्थीहरूबारे जानकारी लिएका थिए । सो अवसरमा फरेस्ट्रीभित्र रहेका दुई क्याम्पसबिचको विवादका विषयमा पनि मुख्यमन्त्री लामालाई जानकारी गराइएको थियो ।

निरीक्षणका क्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय (वन संकाय)का डिन डा. वासुदेव पोखरेलले एएफयूतर्फको शैक्षिक तथा प्राज्ञिक र संरचनाको अवस्थाबारे जानकारी गराएका थिए । उनले हाल विश्वविद्यालयअन्तर्गत ल्याब, नर्सरी तथा भौतिक संरचनाको अभाव रहेको जानकारी गराएका थिए । उनले ल्याब, नर्सरी, भौतिक संरचना तथा होस्टेल निर्माणका लागि स्रोत व्यवस्थापन गर्न आवश्यक पहल गरिदिन आग्रहसमेत गरेका थिए ।

यता टियूतर्फको वन विज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख डा. शिवकुमार माञ्जनले होस्टेल तथा भौतिक संरचना र बसका लागि स्रोत व्यवस्थापन गर्नुपर्ने बताएका थिए । क्याम्पुसमा बस नहुँदा विद्यार्थीको शैक्षिक कार्यक्रमअन्तर्गतका विभिन्न अध्ययन अनुगमन कार्य गर्न गठिन भएको उनले बताएका थिए । निरीक्षणपश्चात् मुख्यमन्त्री लामाले शैक्षिक संस्थाहरूबिचको जग्गा स्वामित्व विवाद लम्ब्याउन नहुने बताएका थिए। शैक्षिक गुणस्तर कायम गर्न देखिएका समस्या र चुनौतीहरू छलफलबाट समाधान गर्नुपर्ने उनले बताए। उक्त विषय संघीय सरकारअन्तर्गतको रहेकाले सोबारे आवश्यक पहल गर्नेसमेत आश्वासन दिए । 

मुख्यमन्त्री लामाले शिक्षा विकास र समृद्धिको मेरुदण्ड रहेकाले राज्यले आफ्नो लगानी त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताए । प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेकाले शैक्षिक संस्थाहरूले त्यसतर्फ केन्द्रित हुनुपर्ने समय आएको उनको भनाइ छ । वर्तमान शिक्षाको मोडललाई व्यावहारिक र व्यावसायिक बनाउन प्राविधिक शिक्षामा जोड दिन जरुरी रहेको उनले औँल्याए ।  

क्याम्पसभित्रको वनजंगल र जीवजन्तुलाई संरक्षण गरेर पर्टयकीय क्षेत्रको रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ। सरकारको लगानीलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी राजस्व संकलनका विभिन्न क्षेत्रहरू तयार गर्ने गरी उक्त क्याम्पसलाई अघि बढाउनुपर्ने उनले बताए। क्याम्पसको क्षमता तथा व्यवस्थापनका विषयमा आवश्यक सहयोग तथा पहल गर्ने उनले प्रतिबद्धता गरे ।

सुझावित समाचार