समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्टपूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन र चुनौतीपूर्ण रहेको छ ।

सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन् । सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो ।

यात्रु जीवन ढकालले भने, ‘दुम्कीबासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिमपूर्ण छ । धुलो, धुवाँसँँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्यो ।’ दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेडलाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यता छ । वैकल्पिक सडक नहुँदा यहाँ दिनहुँ सवारी जाम हुने समस्या उस्तै छ । फोन नलाग्ने, जंगल भएका कारण कहिलेकाहीँ यात्रु भोकभोकै बस्नुपर्ने अवस्था छ । दाउन्ने  सडकको दुर्गति देखेर गाडीचालकहरू पनि हैरान छन् । ट्रक, बस, मोटरसाइकल सबैका लागि यो खण्ड जोखिमपूर्ण बनेको छ । 

सुझावित समाचार