नेकपा माओवादीका सांसद शक्ति बस्नेतले सरकार राज्यका महत्त्वपूर्ण अंग र निकायहरूलाई आफ्नो नियन्त्रणमा लिएर सर्वसत्तावादको अभ्यास गर्न उद्यत भइरहेको आरोप लगाएका छन् । बुधबारको संसद् बैठकमा बोल्दै बस्नेतले सरकार स्वार्थ समूहहरूको पृष्ठपोषण र बैसाखीमा निर्मित भएको कारणले स्वार्थ समूहकहरूको, बिचौलियाहरूको हित र रक्षाका लागि आफूलाई समर्पित गर्नु उसको नियत र नियति बनेको बताए ।
उनले लोकतन्त्रमा संख्या महत्त्वपूर्ण कुरा भए पनि जनचाहनाका अगाडि संख्याका पहाडहरू गर्ल्यामगुर्लुम ढलेको इतिहास र अनुभव हाम्रोवरिपरि रहेको बताए । यतातिर सरकार बेखबर रहेको उल्लेख गरे । यतिवेला सरकारको दुईतिहाइको सामर्थ्य एउटा राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमान गर्न र एउटा निश्चित सार्वजनिक संस्थालाई तेजाेबध गर्न प्रयोग गरिरहेको उनको भनाइ छ ।
विभिन्न बहानामा कुलमान घिसिङलाई स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कर्तुतलाई छोप्ने प्रयास मात्र भएको बताए । जलमाफियाको स्वार्थ पूरा गर्ने विद्युत् प्राधिकरणलाई बिचौलियाहरूको हातमा सुम्पिने, यस्तै उद्देश्यमा सरकार छ भन्ने कुरामा जनता स्पष्ट रहेको उल्लेख गरे । चार महिनापछि स्वतः अवकाशप्राप्त गर्ने कर्मचारीको मानमर्दन किन गरिरहेको छ मान्छेले खोजिरहेको उनले बताए । सरकारले आफ्नो औचित्य गुमाउँदै गइरहेको छ भन्ने पुष्टि आफैँले गरेको उनकाे भनाइ छ । प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् ।