दिसा गराएर मलद्वारबाट ब्राउनसुगर बरामद

बुधबार, १३ चैत, २०८१
डिजिटल संस्करण

सीमावर्ती सुदूरपश्चिम प्रदेश कैलाली, कञ्चनपुरमा लागुऔषधको बिगबिगी बढिरहेका वेला प्रहरीले एक लागुऔषध पेटभित्र लुकाएर नेपाल ल्याएका युवकको मलद्वारबाट ब्राउनसुगर बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ११ चैतमा भीमदत्त नगरपालिका– १६ मझगाउँबाट पक्राउ गरेका बेदकोट– ५ घुर्सुवाका २७ वर्षीया महेश डगौराको मलद्वाराबाट ब्राउनसुगर बरामद गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रहरी  हवल्दार पदम विष्टले डगाैराले मुखभित्र च्यापेर ल्याएको ब्राउनसुगर आफूले पक्राउ गरेपछि निलिदिएको बताए । 

‘महेश डगौराले मुखभित्र च्यापेर ल्याएको ब्राउनसुगर खाएपछि हामीले चिकित्सकको सल्लाहअनुरूप ती व्यक्तिलाई दिसा गर्न लगाएर मलद्वारबाट १.२३ ग्राम ब्राउनसुगर बरामद गरेका छौँ,’ उनले भने, ‘मानिसहरू यसरी लागुऔषध ओसारपसार गर्दछ, यो नियन्त्रणमा निकै चुनौती छ ।’ डगौरासहित दुई दिनको अवधिमा लागुऔषध नियन्त्रण ब्युरोले कैलाली, कञ्चनपुरका विभिन्न स्थानबाट लागुऔषधका तस्कर नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरले दुवै जिल्लाबाट लागुऔषधसहित मानिस पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्युराेका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक केशवराज जोशीको कमान्डिङमा दुवै जिल्लाबाट मानिस र लागुऔषध नियन्त्रणमा लिएको जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रहरी हवल्दार पदम विष्टका अनुसार बेदकोट– ७ का २१ वर्षीय प्रभास शाहीले मुखमा लुकाएर राखेको ३.६७ ग्राम ब्राउनसुगर बरामद गरिएको छ । 

यस्तै भीनपा– ३ की २७ वर्षीया  नीलम अवस्थी र २८ वर्षीया अरुण चन्दको साथबाट ४९० ग्राम ब्राउनसुगर, बेदकोट– ८ का २३ वर्षीया अभिषेक डगौरा र ७ कै २४ वर्षीया सुनील डगौराको साथबाट ३३० मिलिग्राम ब्राउनसुगर, बेदकोट– ७ आमथलाका २० वर्षीय दिनेश बमको साथबाट १ः२६ ग्राम ब्राउनसुगर, बेदकोट– ८ कै दीपक कार्कीको साथबाट २.९५ ग्राम ब्राउनसुगर लागुऔषध बरामद गरेको छ ।

कैलालीको गोदावरी नगपालिका– ६ का २५ वर्षीय रविन चन्द, घोडाघोडी नपा– ६ का २४ वर्षीय मिथुन सोपको साथबाट ८४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । बरामद गरेका सबैलाई कैलाली, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।  पक्राउ परेका किशोर, युवा समूहले कहाँबाट ब्राउनसुगर ल्याएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ  । 
 

सुझावित समाचार