सरकारले भूमिसम्बन्धी अध्यादेश फेरि अघि बढाउन खोजेको छ । जसपा नेपाल र लोसपाको विरोधपछि ‘होल्ड’ भएको विधेयक फेरि अगाडि बढाइने भएको हो ।
सरकारले जारी गरेका ६ मध्ये अन्य पाँच अध्यादेश अघि बढे पनि भूमि अध्यादेश ‘होल्ड’ भएको थियो । भूमि अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सत्तारूढ दलका शीर्ष नेताहरूलाई मंगलबार बालुवाटारमा बोलाएका थिए । तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित नभएपछि बैठक एजेन्डामै प्रवेश गर्न सकेन । अध्यादेश स्वीकृतिका लागि राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक छ ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जसपा अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत उपस्थित थिए ।
यादवले कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसक्ने सन्देश पठाएका थिए । ‘बुधबार सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने एजेन्डा थियो । आज एजेन्डामा प्रवेशै गरेन । चिया खाएर निस्कियौँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भनिन् । बैठकमा अन्य विषयमा छलफल नभएको उनले बताइन् । बैठक बुधबार बिहान पनि बस्ने भएको छ ।