प्रेरक प्रसंग : पढाइको रहर

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

धेरै पहिलेको कुरा हो । अमेरिकाको एउटा गाउँमा एक गरिब परिवार बस्थ्यो । परिवारमा बुबा, आमा र एक छोरा थिए । उनीहरूका दुई छोरा र एक छोरी थिए । उनीहरूमध्ये जेठा छोरा बुबाआमाको काममा सघाउँथे । उनी पढ्न चाहन्थे । उनमा पढ्ने तीव्र चाहना थियो । तर, त्यसका लागि एकातिर उनको गाउँको नजिकमा कुनै स्कुल थिएन । अर्कातिर उनका गरिब बाबुआमासित छोरालाई पढाउने खर्च पनि थिएन । त्यसैले ती बालकको चाहना पूरा हुन सकिरहेको थिएन । 

ती बालक दिनमा जंगलमा गएर दाउरा काट्ने, खेतीपाती गर्नेजस्ता सबै काम गर्थे । उनी आफ्नो काममा सन्तुष्ट पनि थिए । तर, पढ्न नपाउँदा उनलाई असाध्यै दुःख लागिरहेको थियो । एक दिन उनले गाउँदेखि १० माइल टाढाको सहरमा एउटा पुस्तकालय भएको र त्यहाँबाट किताब ल्याएर पढ्न सकिने थाहा पाए । त्यसपछि उनी हरेक दिन पैदल हिँडेर त्यति टाढाको पुस्तकालयमा पुगी किताब ल्याउने र दिनमा जंगलमा गएर दाउरा काट्ने कामलाई निरन्तरता दिन थाले ।

उनी रातमा त्यही दाउरा बालेर त्यसको उज्यालोमा पढ्ने गर्थे । यसरी पढ्दै जाँदा उनको पढाइमा सुधार हुँदै आयो । उनी एकपटक पढेको कुरा हत्तपत्त बिर्सिंदैनथे । उनले बिस्तारै छरछिमेकतिरका घरमा भएका नयाँ–पुराना सबै पुस्तक पढेर सिध्याए । पढ्नका लागि जे सामग्री भेट्थे, उनी तत्कालै त्यसलाई पढिभ्याउँथे । 

यसरी पढ्दै जाँदा तिनै बालक  एक सफल वकिल बने । वकिल बनेपछि दीनदुःखीका पक्षमा वकालत गर्दागर्दै उनी अमेरिकाका १६औँ राष्ट्रपतिसमेत बन्न पुगे । ती बालक थिए अब्राहम लिङ्कन ।

सुझावित समाचार