नरैनापुरमा भीषण आगलागी, १७ घरगोठ जलेर

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा भएको आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका छन् ।

मंगलबार दिउँसो करिब ३ बजे भएको आगलागीबाट ती घरगोठ जलेर नष्ट भएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए । स्थानीय जुमाई खाँको घरबाट सुरु भएको आगो स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिने प्रयास गरे पनि नसकेपछि नेपालगन्जबाट गएको दमकलको सहायतामा नियन्त्रणमा लिएको उनले बताए । 

आगलागीबाट करिव २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ । ‘क्षतिको एकिन विवरण आउन बाँकी छ । विवरण संकलन भएपछि मात्र एकिन क्षति बारे भन्न सकिने अवस्था छ,’ प्रजिअ जोशीले भने ।  

दिउँसो गर्मीसँगै चलेको हावाका कारण आगो नियन्त्रण गर्न समस्या भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जानकारी दिए । उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि तीव्र गतिमा चलेको हावाका कारण नियन्त्रणमा लिन सकिएन ।’

फुसका घर र आपसमा जोडिएका गोठ तथा तीव्र हावाका कारण आगो नियन्त्रणमा लिन समस्या परेको अध्यक्ष शाहले बताए । ‘छिनभरमा १७ घरगोठ जलेर नष्ट भए । नियन्त्रणमा लिन खोज्दाखोज्दै १७ घरगोठ जलेर खरानी भए,’ उनले भने, ‘विभिन्न निकायसँगको समन्वयमा पीडितहरूलाई बास र खानाको व्यवस्था मिलाएका छौँ ।’
उनले नरैनापुरमा रहेको दमकल बिग्रिएकोले नेपालगन्जबाट मगाउनु परेको बताए । करिब चार वर्षअघि नरैनापुर गाउँपालिकाले दमकल खरिद गरेको थियो । उक्त दमकल अहिले बिग्रिएर थन्किएको अध्यक्ष शाहले बताए । ‘मर्मतका लागि एक महिनादेखि प्रयास गरिरहेका छौँ । सामान नपाएर मर्मत हुन सकेको छैन,’ उनले भने । 
नरैनापुर गाउँपालिका आगलागीको जोखिम पालिकामा पर्छ ।  
 

सुझावित समाचार