राष्ट्रिय स्वतन्त्र पार्टीले बिचौलियाहरूको संरक्षणको शृंखलाअन्तर्गत सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निष्कर्ष निकालेको छ।
सरकारको बदनियतपूर्ण निर्णयमा आपत्ति जनाउँदै मंगलबार रास्वपाले विज्ञप्तिमार्फत भनेको छ, ‘विद्युत् प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतुले सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको शृंखलाअन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको रास्वपाको निष्कर्ष छ।’
सरकारको जनविरोधी कदमहरूबाट देशमा केही गरौँ भन्ने आमयुवा र सचेत नागरिक निरुत्साहित भएको ठहर गर्दै रास्वपाले सरकारको विरोधमा हुने सबै शान्तिपूर्ण कार्यक्रममा आफ्नो ऐक्यबद्धता रहने जनाएको छ।
